८ बैशाख २०८१, शनिबार
Follow Us

म्यानचेस्टर सिटीको विजयी सुरुवात, चेल्सी स्तब्ध

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७९, बुधबार ०६:४५

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल मड्रिडले मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । सिटीले सेभियालाई ४-० ले हरायो । सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

जितसँगै समूह जी मा सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई ३-० ले हरायो । यस्तै, समूहको एफमा साविक विजेता रियल मड्रिडले सेल्टिकलाई ३-० अन्तरले पराजित गर्दै सुखद सुरुवात गर्यो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले एक एक गोल गरे । रियलले तीनै गोल दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले ३ अंक जोडेको छ ।

चेल्सी स्तब्ध
युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरे । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक जोडेको छ । समूह एचकै अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २–० ले पराजित गर्यो । यता, समूह ‘ई’ मा इंग्लिस क्लब चेल्सी पहिलो खेलमै स्तब्ध भएको छ । चेल्सी क्रोएसिया क्लब डिनामो जाग्रेबसँग १–० ले पराजित भयो । जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले १३औं मिनेटमा निर्णायक गोल गरेका थिए । समूह ई कै खेलमा एसि मिलान साल्जबर्गसंग ११ गोलको बराबरीमा रोकियो ।