कास्की । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादशैँ लगायतका चाड पर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र अन्य आपराधिक गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । ‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले सबैलाई आपसी सद्भाव कायम राख्दै जिम्मेवार र सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको हो ।
चाडपर्वका बेला घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले सुरक्षा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालयले चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन सार्वजनिक अपिल जारी गर्दै घर छाडेर बाहिर जाँदा झ्यालढोका राम्रोसँग बन्द गर्न, छिमेकीलाई निगरानीका लागि अनुरोध गर्न तथा घर र टोलको सुरक्षाका लागि सीसीटीभी र आपत्कालीन साइरनजस्ता सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ ।
प्रहरीले मेलापर्व तथा भीडभाड हुने स्थानमा गरगहना, मोबाइल र नगद चोरी हुन सक्ने भन्दै आफ्ना सामानको सुरक्षा गर्न र पाकेटमारीबाट जोगिन आग्रह गरेको छ । रातको समयमा घरबाहिरको बत्ती बाल्ने तथा झ्यालढोका राम्ररी बन्द गरेर मात्र सुत्न पनि अनुरोध गरिएको छ । दियो, मैनबत्ती तथा अन्य आगोका स्रोत बालेर छाड्दा आगलागी हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रहरीले सचेत गराएको छ ।
त्यस्तै, बैंकको चेक, एटीएम कार्ड र ओटीपी कोड अरूलाई प्रयोग गर्न नदिन, यात्राका क्रममा अपरिचित व्यक्तिसँग अनावश्यक घुलमिल नगर्न तथा उनीहरूले दिएको खानेकुरा नखान पनि प्रहरीले आग्रह गरेको छ । सुन तथा डलर साट्ने नाममा हुन सक्ने ठगीबाट जोगिन र चाडपर्वको नाममा जुवा, तास खेल्ने तथा खेलाउने गतिविधिबाट टाढा रहन पनि अपिलमा उल्लेख छ । प्रहरीले पटका, भुइँचम्पा, आतिसबाजीलगायत विस्फोटक पदार्थको प्रयोगले मानवीय, भौतिक तथा वातावरणीय क्षति पुर्याउन सक्ने भन्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ ।
चर्को आवाजमा लाउडस्पिकर बजाएर ध्वनि प्रदूषण नगर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन तथा क्षमताभन्दा बढी यात्रु र मालसामान नबोक्न पनि सचेत गराइएको छ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, उच्छृङ्खल गतिविधि गर्ने तथा चन्दा, भेटी वा अन्य सहयोगका नाममा अनिच्छित रकम माग्ने काम नगर्न पनि प्रहरीले आग्रह गरेको छ । कुनै समस्या परेमा नेपाल प्रहरीको सम्पर्क नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।