कुमार केसी । लण्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले १७ अक्टोबर शनिबार एक अन्तरदेशीय दशैं विशेष मुक्तक वाचन, नवगठित कार्यसमितिलाई बधाई ज्ञापन तथा विजयादशमी २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जुम विधिबाट मार्फत सम्पन्न कार्यक्रममा अमेरिका, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, जर्मनी र नेपालबाट उल्लेख्य संख्यामा मुक्तककारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रस्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’ले आफ्नो एक थान मुक्तक वाचन गरी कार्यक्रम उद्घाटन गरेका थिए। संस्थाकी अध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ सभापतित्वमा भएको उक्त कार्यक्रम सचिव गङ्गा भण्डारीले संचालन गरेकी थिइन् । जुम होस्टमा सल्लाहकार कुमार केसी तथा गौरव केसीले प्राविधिक रुपमा साथ दिएका थिए। नेपाल मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार तथा कार्यक्रम संयोजक डा रुपक श्रेष्ठले उक्त कार्यक्रमको उद्देश्य संसारभर फैलिएका नेपालीहरुको बिच महान पर्व बडादशैंको उपलक्षमा शुभकामना ब्यक्त गर्नु, मान्यजनहरुबाट आशिर्वाद लिनुका साथै नवनिर्वाचित कार्यकारी समितिको बधाई तथा परिचय गराउनु रहेको बताउंदै उपस्थित सबैलाई स्वागत गरे।
डा श्रेष्ठले नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष प्रतिमा केसी ‘प्रवासी’, उपाध्यक्ष राज श्रेष्ठ, सचिव गङ्गा भण्डारी, सहसचिव अहिल्या कुँवर, कोषाध्यक्ष जीत बुढाथोकी छन्त्याल, सदस्यहरु शशी थापा सुब्बा, दुर्गा ढकाल, रबिन्द्र जोशी र माया गुरुङ साथै सल्लाहकारहरुमा सुमलकुमार गुरुङ, बिनोद अधिकारी, कुमार केसी तथा डा. रुपक श्रेष्ठको परिचय गराए।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रामकाजी कोनेले विशेष अतिथिको रुपमा नवनिर्वाचित कार्यकारी समितिलाई सफलताको शुभकामना दिए। बेलायत शाखाले मुक्तकको अन्तरराष्ट्रिय स्तरमा उन्नयन गर्न स्थापनाकालदेखि नै उदाहरणीय काम गरिरहेको उनले बताए ।
कार्यक्रममा गोपाल रेग्मी अमेरिका, शारदा पौडेल ‘निशा’ स्पेन, विमल गिरी बेल्जियम, सबी श्रेष्ठ पोर्चुगल, सिमा ढुङ्गाना जर्मनी, नेपालबाट प्रमिला गजुरेल, रमेश पौडेल, सुनिल अधिकारी, सूर्य खड्का बिखर्ची, शीतल कादम्बिनी, गुप्तबहादुर श्रेष्ठ, यादव भट्टराई, बाबुराम पोखरेल, मदन भण्डारी, लक्ष्मी रायमाझी खड्का, तेज बहादुर चाह्क्ली, बेलायतबाट राज श्रेष्ठ, गङ्गा भण्डारी, अहिल्या कुँवर, शशी थापा सुब्बा, माया गुरुङ, रघु भण्डारी, सेमन्त राई, कुमार केसी, डा. रुपक श्रेष्ठ, संजिता देउजा, सुमलकुमार गुरुङ तथा विनोद अधिकारीले बडा दशैंको शुभकामना ब्यक्त गर्दै विविध रसका आ-आफ्ना तीन थान मुक्तक वाचन गरेका थिए।
प्रमुख अतिथि श्रीओम ‘रोदन’ले कार्यक्रम अत्यन्त सफल भएको बताए। यस उत्तरआधुनिक व्यस्त समयमा मुक्तकले लघु आयाममा, काव्यिक कला र सौन्दर्यसहित भावनाको तीव्र सम्प्रेषण गर्न सक्ने खुबी भएकोले समकालीन साहित्यिक समाजमा अत्यन्त लोकप्रिय काव्य बन्न सफल भएको उनले बताए।
उनले मुक्तकको सैद्धान्तिक तथा रचनात्मक विकास र विस्तारको आफू साक्षी रहेको र नेपाली मुक्तकको उन्नयन अत्यन्त सुखद रहेको बताए। भाषा साहित्य र संस्कार बचे हामी संसारका जहाँ रहे पनि बाँच्नेछौं भन्दै नेमुप्र यूकेले यसरी नेपाली भाषा र साहित्यलाई संसारभर फैलाउन गरेको कार्य स्तुत्य रहेको रोदनले सुनाए।
उनले ‘सबै साहित्यकार मुक्तककार’ भन्ने नारासहित सबै साहित्यकारहरुबाट मुक्तक रचना गराउने अभियानमार्फत नेमुप्रले २२४ जना साहित्यकारहरुबाट मुक्तक संकलन गरी २०८२ मा बृहत पुस्तककार ‘मुक्तक मुहिम’ प्रकाशन गर्न सफल भएको स्मरण समेत गरे। त्यस अभियानमा आफूले पनि सम्पादकको भूमिकामा सहयोग गर्न पाउँदाको क्षण सुखद रहेको उनको भनाइ थियो। बेलायत शाखाबाट मुक्तकको विकास र विस्तारमा भएको अहम भूमिकाको आफू साक्षी रहेको बताउँदै उनले आगामी दिनमा थप प्रगतिको शुभकामना दिए।
सभाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ ले कार्यक्रमको अन्तमा आफ्ना रचना सुनाउदै उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु, कार्यकारी समिति, आजीवन सदस्यहरु, कार्यक्रम संचालक, जुम होस्ट तथा संयोजकलाई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै उपस्थित सबैको साथ र शुभकामनाले आफूमा अझ उर्जा थपिएको बताइन् ।