७ बैशाख २०८१, शुक्रबार
Follow Us

रोनाल्डोको गोलमा युनाइटेड विजयी

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७९, शुक्रबार ०५:५५

लन्डन । एफसी सेरिफलाई २-० ले हराउदै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ । युनाईटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे ।

खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दा युनाईटेडले २-० को जित निकाल्यो । जितसँगै युनाईटेडले समूह ई को २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट ३ अंक जोडेको सेरिफ तेस्रो स्थानमा छ ।

डिबलाको गोलमा रोमाको जित
एचजेकेलाई ३-० ले हराउदै इटालियन क्लब रोमाले युरोपा लिगमा पहिलो जित निकालेको छ । १० खेलाडीमा सिमित फिनल्यान्डको एचजेकेलाई पराजित गर्ने क्रममा पाउलो डिबाला, लोरेन्जो पेलिग्रेनी र एन्ड्रिया बेलोट्टीले समान एक-एक गोल गरे । जितसँगै रोमा दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित एचजेकेले खाता खोल्न सकेको छैन ।