६ बैशाख २०८१, बिहीबार
Follow Us

बराबरीमा रोकियो आर्सनल

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७९, सोमबार ०५:३१

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका ग्रानिट झाकाले पहिलो गोल गरे । दोस्रो हाफमा साउथह्याम्पटनमा स्टुवार्ट आर्मस्ट्रंगले बराबरी गोल गरेका हुन् ।

यो बराबरीका बाबजुद आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत छ । आर्सनलको ११ खेलबाट २८ अंक भएको छ । समान खेलबाट २६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । साउथह्याम्टन १२ अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।

न्युक्यासलले टोटनह्यामलाई हरायो
इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटनह्यामलाई हराएको छ । आइतबार राति न्युक्यासलले घरेलु टोली टोटनह्यामलाई २–१ ले हराएको हो ।

खेलको ३१ औं मिनेटमा क्यालम विल्सनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मिगुइल अल्मिरोनले गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे । त्यसपछि ५४ औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । बाँकी समयमा थप गोल नसकेपछि खेल २–१ को अवस्थामा समाप्त भएको हो ।

जितसँगै न्यूक्यासल २१ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित टोटनह्याम २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अन्य खेलमा एस्टन भिल्लोले ब्रेन्टफोर्डलाई ४–० ले, फुलह्यामले लिड्सलाई ३–२ र लेस्टरले उल्भ्सलाई ४–० ले पराजित गरेका छन् ।