“अघिल्ला चुनाव भन्दा अझ सहज”
काठमाण्डौं । मंसिर ४ गते हुने प्रतिनिधिसभाको लागि काठमाण्डौं ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जित सहज हुदै गएको छ ।
‘म यो पटक यहाँबाट सांसद भएर गएर नेपाली कांग्रेसको संसदीय दलको नेता लड्न चाहन्छु, जित्न चाहन्छु र प्रधानमन्त्री बन्न चाहन्छु भन्दै चुनावी अभियानमा लागेका थापाको पक्षमा जनलहर देखिएको छ ।
विहिबार बूढानीलकण्ड नगरपालिका वार्डहरुमा थापा पुग्दा जनताले उत्साहजक रुपमा स्वागत गरे । यसैबीच चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले थापाकै पक्षमा खुलेर उभिए । यसअघि अधिवक्ता कृष्ण प्रसाद भण्डारीले समेत थापालाई जितको शुभकामना दिएका थिए ।
उनले त्यस क्रममा आफू काठमाडौं–४ बाट यसअघि नै दुई पटक निर्वाचित भएर सांसदको अनुभव लिएको, मन्त्री भएको र अहिले पार्टीको जिम्मेवारीमा पनि भएको भन्दै मुलुकको समस्या र समाधानको उपाय पनि खोजेर आएको बताएका थिए ।
काठमाडौं–४ बाट २०७० र २०७४ मा निर्वाचित भएका थापा तेस्रो पटक प्रत्यक्ष चुनाव जितेर सांसद हुन मात्र चाहेका छैनन, देशको प्रधानमन्त्री नै बन्न चाहेका छन् ।
२०३३ साउनमा काठमाडौंमा जन्मिएका थापा मैतीदेवी, रातोपुलका स्थायी बासिन्दा हुन् । नेविसंघमा संगठित भएर २०४६ सालको जनआन्दोलनबाट राजनीतिमा आएका उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
२०५१ सालमा नेविसंघबाट त्रिचन्द्र कलेजको स्ववियु सदस्य भएका थापा २०५३ मा सचिव र २०५५ मा सभापति निर्वाचित भए । त्यसपछि २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष, २०५९ महामन्त्री र २०६८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए ।
पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका उनी केन्द्रीय सदस्यमा मनोनीत भए । १४औं महाधिवेशनबाट भने उनी महामन्त्रीमा विजयी भए ।
संसदमा थापाको प्रभाव
थापाको संसदीय यात्रा चाहिं २०६४ सालमा संविधानसभामा समानुपातिक सभासदबाट सुरु भयो । २०७० को संविधानसभामा उनी काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भए, प्रतिनिधिसभामा ।
२०७० सालको निर्वाचनपछि संसदको कृषि तथा जलस्रोत समितिका सभापतिको रूपमा थापाले खेलेको भूमिकाले प्रशंसा पाएको थियो । २०७३ मा स्वास्थ्यमन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रमा सुधारका रणनीतिक योजनाहरू लागू गरे ।
२०५१ सालमा नेकपा (एमाले) को अल्पमतको सरकार थियो । गृहमन्त्री थिए, केपी शर्मा ओली । त्यतिबेला नेविसंघले आह्वान गरेको नेपाल बन्दको क्रममा थापा पहिलो पटक हिरासतमा परे ।
२०५९–२०६३ को अवधिमा त सरकारको हिरासत उनका लागि अस्थायी घर जस्तै भयो । उनीमाथि दुईपटक राजद्रोहको मुद्दा चल्यो ।
२०५९ देखि २०६३ सम्मको आन्दोलनमा नेपालमा गणतन्त्र स्थापनाको वातावरण बनाउनमा थापाले महत्वपूर्ण भूमिका खेले । त्यो सक्रियता र भूमिकाबाट उनी प्रखर युवा नेताको रूपमा स्थापित भए । त्यसयता लगातार राजनीतिक चर्चाको केन्द्रमा रहेका उनै गगन थापा यसपटक काठमाडौं–४ बाटै प्रतिनिधिसभामा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।