२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बेल्जियममा नेपाली व्यवसायीको लोभलाग्दो सफलता

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७९, बिहीबार १०:३७

बेल्जियमा नेपाली धनाड्यः सफलता चुम्दै व्यवसायी

चिरन शर्मा ।  लण्डन । सन् १९९२ को राजनीति परिवर्तनपछि मात्र नेपालीहरु निर्वाद रुपमा विदेशिन पाए । सुरुवाती दिनमा नेपालीप्रतिको दृष्टिकोण र पहिचान विदेश गएर भाँडा माझ्ने रुपमा रहेको थियो । विश्वको जुनसुकै कुनामा पुगे पनि थ्री डी अर्थात ड्रटी, डिफिल्ट, डेन्जर काम गर्छन् एकखाले मान्यता स्थापित गरिएको थियो । तर समय त्यो रहेन । परदेश भासिएको पहिलो पुस्ताले बगाएको पसिना र इमान्दारिताका कारण संसारको सम्पन्न मुलुकमा ठूला सहरमा सयौँ विदेशीलाई रोजागारी दिने हैसियत नेपालीहरुलाई बनाए ।

विश्वका लोभलाग्दो, सम्पन्न र सम्भावना भएको सहरमा नेपालीहरुले आफ्नो व्यवसाय संचालन गरेका छन् । त्यो व्यवासायबाट उनीहरुले मनग्य आम्दानी मात्र गरेका छैनन् नेपाल र नेपालीको पहिचान समेत विश्वमाझ चिनाएका छन् । बेल्जियमको ब्रशेल्स, एन्थ्रोप, लुभेन, आस्कोट शहरमा लोभलाग्दा भव्य भवनमा नेपालीहरुले आफ्नै व्यवसाय संचालन गरेका छन् । नेपालीहरुकै व्यवस्थापनमा होटल, क्याफे, रेष्टुरेन्ट, ग्रोसरी सप लगायतको व्यवसाय फस्टाउदै गएको छ ।

सन् १९९९ मा बेल्जियम छिरेका लोकप्रसाद दाहालले अहिले १ सय ६० जना कामदार राखेका छन् । धादिङमा जन्मिएका दाहालले सन् २०१० देखि आफ्नै व्यवसाय सुरु गरेका हुन् ।
उनले बेल्जियम प्रवेश गरेदेखि नै आफ्नो पेशा क्याटरिङ क्षेत्रलाई रोजे । सुरुमा उनी इटालियन पिजारियारम काम गर्थे । सामान्य थियो कमाई, आफ्नै खर्चसम्म धान्न मुस्किल भएको उनी बताउँछन् । अहिले उनका ८ वटा जापानी सुसी रेष्टुरेन्ट र १ एउटा इन्डियन रेष्टुरेन्ट छ ।

भरर्खर मात्र रियरस्टेड व्यापार सुुरु गरेका दाहालका रेसिडेन्ट र व्यवसायी गरी १० वटा घर छन् । उनलाई पारिवारिक ठूलो सहयोग रहेको छ । उनका ज्वाँई कासी दनाईले दाहालको व्यवसायलाई सहयोग पु-याएका छन् । दाहालले संचालन गरेका व्यवासायहरू सबै भन्दा बढी कर तिर्ने सूचीमा पर्छन् । उनले लगानी गरेका रेष्टुरेन्टहरू र ग्रोसरी सप्लार्यस लगायतको वार्षिक कारोवार ८ मिलियन रहेको छ ।

उनले धेरै कर तिरेबापत ट्रान्स म्याग्जिनबाट उत्कृष्ट करदाताको अवार्ड हात परेका छन् । उनको लगानी बेल्जियममा मात्र सीमित छैन । नेपालमा समेत ठूलो लगानी भित्रएका छन् । उनले हाइड्रो, बैंकिङ, रेष्टुरेन्ट, स्वास्थ्य क्षेत्रमा गरेर करिब १ अर्ब रुपैयाँको लगानी गरेका छन् ।

यस्तै शालिन व्यक्तित्वको नाम कमाएका लोकप्रसाद दाहाल बेल्जियमा नेपाली समुदायका लागि आइडियल व्यक्तित्व हुन् । विगत लामो समयदेखि बेल्जियममा होटल तथा रेष्टुरा व्यवसाय गरेर थुप्रैै नेपाली र विदेशीलाई जागिर दिएका छन् ।

उनी व्यवसायका अतिरिक्त गैरआवासीय नेपाली संघको बेल्जियम राष्ट्रिय समन्वय परिषदको महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन् । उनले नेपालमा हालै मात्र भेनोलिमा नामको रेष्टुरेन्टमा ५ करोड भन्दा बढीको लगानीमा काठमाण्डौं दरबारमार्गमा नयाँ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । उनी अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदमा सक्रिय छन् ।

संसारभरका विभिन्न देशमा मानवीय सेवा तथा कल्याणकारी काममा ख्याती कमाएको बेल्जियमका डाक्टरहरूको संस्था ‘भ्लाम्स मेडिकल’मा कार्यकारी सदस्य रहेका दाहालसँग नेपाललगायत एसिया र अफ्रिकाका विभिन्न देशमा परोपकारी काम गरेको अनुभव छ ।


०००००००००००००००

सन् १९९९ मा बेल्जियम छिरेका विपिन गुरुङ व्यस्त नेपाली व्यवसायी मध्येका एक हुन् । सुन्दर भविष्यको कल्पना गर्दै आफ्नो जन्मस्थल भरतपुर चितवनलाई छाडेर बेल्जियम पुगेपछि उनले अरु नेपालीले जस्तै रेष्टुरेन्टलाई नै आफ्नो कर्मथलो बनाए । सुुरुका दिनमा रेष्टुरेन्टका काम गर्नु मुस्किल थियो । साहुुको निर्देशनमा चले । आफ्नो ताता पसिना त्यही बगाए करिब १० वर्ष त्यहीँ दुख भोगे । सन् २०१० सम्म त्यस ठाउँमा आफ्नो र कर्म गरिरहे ।

त्यसपछि उनलाई सधैँ उसकोमा काम गर्न मन लागेन । आफैँले केही गर्ने विचार गरेर साथीभाइ परिवारको आर्थिक सहयोगमा आफ्नै व्यवसाय सुरु गरेर अहिले उनी ५० जनालाई रोगजारी दिन सफल भएका छन् ।

उनले बेल्जिस्ट, थाई, जापानीज, इण्डियन लगायतको खानालाई व्यवसाय बनाएका छन् । बेल्जियमाको आस्कोट क्षेत्रमा उनका रेष्टुरेन्टहरु निकै लोकप्रिय छन् । उनले रियलस्टेटमा समेत लगानी गरेका छन् । दिनहुँ जस्तो व्यस्त रहने गुरुङले व्यवासाय सफल हुनु आफ्नो भन्दा टिम वर्कको उपलब्धि मान्छन् । व्यवसायी हुन सकिन्छ तर व्यवासाय गर्न त टिम नै राम्रो हुनुपर्छ गुरुङले नेपालब्रिटेन डट कमलाई भने । आगामी हप्ता घोस्टकिचनको नयाँ शाखा खोल्ने तरर्खरमा रहेका गुरुङले आफ्नो सफलताको पछाडि पारिवारिक सहयोग, इमान्दारीता र मेहनतलाई जिम्मेवार ठान्छन् । उनले वार्षिक ५ मिलियन युरोको व्यवसाय गर्दै आएका छन् ।

०००००००००
सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन् (हेड अफ पराडाइज) की साहुनी हुन् । सुरुको दिनमा अरु नेपालीले जस्तै सामान्य रेष्टुरेन्ट वेटरबाट काम थालेकी प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन् ।

सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापार गरिन् । महिलाले पनि एक्लै व्यवसाय संचालन गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्न उनले एक्लै आफ्नै व्यासायको चावी हातमा लिइन् ।

उनी भन्छिन्, ‘जीवनमा कुनै महत्वकांक्ष नराखे पनि केही गर्नुपर्छ भन्ने सानैदेखिको भावनको कारणले आफू व्यवासयमा हाम फालेँ । परिस्थितिसँग बग्दै जाँदा व्यवसायी हुन पुगेकोमा निकै खुसी छु ।’

उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छन् । नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक २ मिलियन युरोको आम्दानी गर्छिन् ।

००००००००००००००००००००
१९९१ सन् बेल्जियम आएसँगै उनले घर बनाउने काम गर्थे । बिल्डिङ कन्ट्रक्सनको काम गाह्रो थिएन् । दिनहुँजस्तो इँटा बोक्दा ज्यान थला पथ्र्यो । कास्की रानीपैपाका कुमार गुरुङले पुरान ती दिन सम्झदै भन्छन् ‘धेरै पैसा त हुन थिएन तर खाना बस्न राम्रै हुन्थ्यो । ’ उनले घर बनाउने काम लगातर ३ वर्ष गरे ।

सन् १९९७ मा उनले आफ्नो पेशा फेरे । पानकेक नामको रेष्टुरेन्टमा सुुरुमा किचन समालेपछि सन् २००६ सम्म वेटरको काम गरेर दिन बिताए । काम गर्दागर्दै उनले पानकेक रेष्टुरेन्ट आफैँले चलाउन थाले । सन् २००७ मा आफ्नै व्यवसाय सुरु गरे । आफूले शुरु गरेको व्यवसायले सफलता हाँसिल गर्दै गएपछि सन् २००९ मा लुभेन सिटीमा कन्टिनेन्टर फुडका पारखीहरुको लागि टेष्ट अफ नेपाल रेष्टुरेन्ट खोले ।

पछि सन् २०१२ मा जापानीज फुड सुसी बेच्न थालेपछि व्यवसायले थप उचाई लियो । अहिले उनीसँगै साथीहरुको साझेदारीमा चार वटा रेष्टुरेन्ट छन् । करिब तीस जनालाई रोजगारी दिएका छन् । गुरुङले आफूलाई सफल व्यापारी ठान्दैनन् । उनले भने,‘ मैले कोशिस गर्दैछु अहिलेनै सफल भएको जस्तो मलाई लाग्दैन् ।’ उनले नयाँ व्यवसाय गर्नेहरुलाई आफ्नो अनुभवको क्षेत्रमा हात हाल्न सुझाव दिन्छन् । सामान्य परिवारमा हुर्किएका गुरुङले अहिले बेल्जियम जस्तो आर्थिक उन्नति गरेको देशमा वार्षिक मिलियन भन्दा बढीको व्यापार गर्छन् ।

 

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क केसीसमेत व्यवसायी हुन् । उनले विगत केही वर्ष देखि बेल्जियममा नेपालीहरुले व्यवसायिक रुपमा सफलता प्राप्त गर्दै गएको बताए । हाल बेल्जियमा ४ सयवटा नेपालीको लगानीका रेष्टुरेन्ट र क्याफे छन् भने अन्य क्षेत्रको लगानी जोड्दा ६ सय भन्दा बढी नेपालीहरूले आफ्नै व्यवसाय चलाएर विदेशी कामदारलाई जागिर दिएका छन् ।