युरोपदेखि भक्तजन बेलायतमा
लन्डन । बेलायतमा पहिलोपटक सार्वजनिक रुपमा आयोजना गरिएको श्रीमद्भागवत कथा समारोहको चौथो दिनमा पनि भक्तजनहरूको उपस्थिती उत्साहजनक रहेको छ।
साउथलस्थित विश्व हिन्दू मन्दिरमा आयोजित श्रीमद्भागवत कथा सुन्न युरोप, बेल्जियमदेखि भक्तजनहरू लन्डन आइपुगेका छन्।
चितवन घर भएका हाल बेल्जियममा बसोबास गर्दै आएका श्रीराम प्रसाईले बेलायतमा आएर चर्चित पण्डित कुवेर सुवेदीको कथा सुन्न पाउनु आफ्नो अहोभाग्यको कुरा भएको बताए।
उनीसँगै उनीकी श्रीमति गीता प्रसाई (भुसाल) समेत श्रीमद्भागवत कथा सुन्न साउथल आएकी छन्। गीताले सुवेदीलाई नियमित रुपमा अनलाइनमा फलो गर्दै आएको तर आफुले प्रत्यक्ष भेट्न पाएकोमा प्रसन्नता प्रकट गरिन्।
कथा सुन्न ननिटन, अक्सफोर्ड, ह्यास्टीङ्ग, नर्थलण्डन, इस्टलण्डन, लिस्टर, पिटरबरो, कोभेन्ट्री, रेडिङ, अल्डरशटलगायत विभिन्न शहरबाट भक्तजनहरू नियमित रुपमा साउथल आउने क्रम जारी रहेको आयोजकले जनाएको छ। भक्तजनहरूको आग्रहमा यसअघि ४ बजेदेखि सुरु हुने भनिएको कथा शनिवारदेखि ३ बजेदेखि शुरु हुने भएको छ।
आयोजक धर्मदर्शन फाउन्डेशन नेपालले शनिवार र आइतवार थप भक्तजनहरू यूरोपबाट लन्डन आउन लागेको सूचना प्राप्त भएको जनाएको छ।
शुक्रवार पण्डित सुवेदीले नेपालमा मात्र पाइने चर्तुर्थ दिव सालाग्रम (श्रीकृष्ण गण्डकी) भगवानको गंगानदी सहित तीन जम्माबाट कर्मको बन्धनमा परेका भरतराजाको पावन चरित्र दिव्य प्रसंशामा कथा सुनाए।
‘श्रीमद्भागवत कथा’मा आधा दर्जनभन्दा बढी कर्ताहरूले आफ्ना पितृहरूको स्मृतिमा नियमित रुपमा सक्रिय सहभागिता जनाइरहेका छन्।
‘श्रीमद्भागवत कथा’ सुन्न आएका भक्तजनहरूको व्यवस्थापनको लागि श्री वालेश्वरीदेवी, पण्डितद्धय चिरन्जीबी ढकाल, निलहरी घिमिरे, कृष्ण तिमल्सीना, दधि आचार्य, सहदेव गिरी, आनन्द आचार्य, चिरन शर्मा, होमनाथ पौडेल लगायतको टोलीले सहयोग गरेको थियो।
शुक्रवारका दिन भक्तजनहरूको खाना व्यवस्थापनको जिम्मा कल्पना उप्रेती पुडासैनी, विश्वअजय पुडासैनी, गंगा सापकोटा लगायतले लिएका थिए।
सनातन धर्मको अमूल्य ग्रन्थ ‘श्रीमद्भागवत महापुराण’को १२ स्कन्धअनुसारको संक्षिप्त कथा भक्तजनमाझ प्रस्तुत भइरहेको छ।
एक हप्तासम्म चल्ने यो कथा सप्ताह १२ अगस्टदेखि १८ अगस्टसम्म दैनिक सञ्चालन हुनेछ। १६ अगष्ट कृष्णजन्मअष्टमीका दिन भगवानको विशेष पूजाआजा हुने आयोजकले जनाएको छ।