११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए सदस्यता लिन फेस भेरिफिकेशन अनिवार्य, खुल्यो सदस्यता वितरण

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७९, सोमबार १९:४४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सदस्यता लिदा अनिवार्यरुपमा फेस भेरिफीकेसशन लागू हुने भएको छ ।

गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न अन्तराष्ट्रिय कार्यकारी सचिवालयको बैठकले संघका राष्ट्रिय समितिहरुमा एमआईएस प्रणाली मार्फत सदस्यता वितरण गर्दा सो नियम लागू गर्ने निर्णय गरिएको हो ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा बसेको बैठकले पोखरा महानगरपालिकाको सहकार्यमा चिप्लेढुंग्गामा अत्याधुनिक सार्वजनिक शौचालय निमार्ण गर्ने निर्णय गरेको छ ।

बैठकले एनआरएनएको सहयोगमा देशव्यापी रुपमा मोबाईल शौचालय परिचालन गर्न निर्णय समेत गरेको छ । यस्तै बैठकले संघ अन्तरर्गतको स्वास्थ्य समितिले देशका बिभिन्न स्थानमा गर्न लागेको स्वास्थ्य शिविरलाई व्यवस्थित बनाउन सबै राष्ट्रिय समितिहरुलाई सहकार्य गर्न आग्रह गरेको छ ।

यस्तै गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको अर्को पूर्ण बैठक आगामी ८ जनवरीमा भरर्चुअल माध्यमबाट बस्ने संघले जनाएको छ ।

बैठकले कर्मचारी प्रशासन नियमावलीको पुनरावलोकन गर्न यसअघि महासचिव गौरीराज जोशीको संयोजत्वमा गठित उपसमितिमा महासचिवहरु डा. देवी बस्नेत, रामशरण सिमखडा, ओम गुरुङ, विनय अधिकारी, गणेश केसी र नायरायण काफ्लेलाई थप गर्ने निर्णय गरेको छ ।

संघका सचिव गंगाधार गौतमका अनुसार बैठकमा संघको कार्यकारी निर्देशक रवि किरण अधिकारीको कार्यक्षमता र प्रभावकारीताको बारे गम्भिर छलफल भएको थियो । बैठकले अधिकारीले अध्यक्ष थापाको निर्देशनको पालना नगरेको ठहर गर्दै उनलाई लिखित रुपमा सचेत गराउने निर्णय गरेको गौतमले नेपालब्रिटेन डट कमलाई जानकारी दिए ।

अक्टोवर महिनामा सम्पन्न साधारणसभामा संघको विधानलाई सर्वसम्मतले अनुमोदन गराउन सहयोग गर्नु हुने विधान समिति लगायत सबैलाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।

बैठकमा संघका अध्यक्षहरु डा. बद्री केसी, कुल आचार्य, महासचिव डा. केशव पौडेल, गौरीराज जोशी लगायत पदाधिकारीहरुको उपस्थिती थियो ।