१९ जेष्ठ २०८१, शनिबार
Follow Us

प्रचण्ड बाेकेर पूर्ण खड्काको उपप्रधानमन्त्री खाने दाउ

नेपालब्रिटेन संवाददाता
३ पुष २०७९, आईतवार १२:५१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सख्त आवश्यक परेको बेलामा आफ्ने पार्टीका उपसभापति एवम् आफूलाई देउवाको उत्तराधिकारी बताउने पूर्णबहादुर खड्काले असहयोग गरेको खुलासा भएको छ ।

हिजोआज देउवा क्याम्पका यी हस्ती पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँगको गोप्यकोठे बैठकमा घण्टौ बिताइरहेका छन् । उच्च स्रोतले दिएको जानकारी अनुसार बत्तीसपुतली तिरको सुविधा सम्पन्न होटलमा महत्वाकांक्षी कांग्रेस नेताहरुको बैठक बस्ने गरेको छ ।

पूर्णबहादुर खड्काले पहिल्यै आफू अब मन्त्री नबन्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका हुन् । यसैले उनी पार्टी सभापति देउवाको क्याबिनेटमा बसेर काम गर्न त्यति उत्साही छैनन् । यसै पनि नेपाली कांग्रेसको नेतृत्वमा भावी सरकार बनेमा प्रधानमन्त्री पछिको शक्तिशाली गृह मन्त्रालय माओवादीको भागमा जाने निश्चित जस्तै छ । गृह मन्त्रालय सम्हालिसकेको व्यक्ति अन्य मन्त्रालयमा रमाउन सक्दैन । गृह मन्त्रालयको कार्याधिकार प्रधानमन्त्रीपछि अरु मन्त्रालयभन्दा बढी छ । शान्ति, सुव्यवस्था, सीमा सम्बन्ध, ७७ जिल्लाको प्रशासनमार्फत जनतासँग प्रत्यक्ष जोडिने भएकोले गृहमन्त्रीको शान नै अलग्गै हुन्छ । उपसभापति खड्काले त्यो स्वाद चाखिसकेका छन् । यसैले गृहबेगरको मन्त्रालयको मन्त्री बन्ने चाहना उनले त्यागेका हुन ।

पार्टीमा उपसभापति निर्वाचित भएपछि संगठनलाई ब्यापक, चुस्त, दुरुस्त, सक्षम र सुदृढ बनाउने ध्येयले उपसभापति खड्काले मन्त्री खान्न भनेका हुन् त्यतिबेला । तर गठबन्धन गरेर निर्वाचनमा गएकोले उनले सुर्खेतबाट सहजरुपमा चुनाव जिते । त्यसै पनि कांग्रेस जस्तो ठूलो पार्टीका उपसभापतिको अगाडि पछाडि आसेपासे र नेताको अनुहार देखाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने गिरोहको कमी हुने कुरा भएन । उनलाई तिनै आसेपासेहरुले मन्त्री खाने बुद्धि दिए । त्यो पनि गृहमन्त्रालय नै पाउने ।

कांग्रेसको नेतृत्वमा सरकार बन्दा गृह पाउने संभावना नभएकोले उनीहरुले पहिले प्रचण्डको नेतृत्वमा सरकार बनाए कांग्रेसको भागमा गृह पर्ने र उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेर देशमा रजगज गर्न सुझाए । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त मुखर भएर संसदीय दलमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको विरुद्ध प्रतिस्पर्धा गर्न समेत सुझाव दिएको सार्वजनिक गरिसकेका छन् ।

कांग्रेसका उपसभापति खड्काको आड पाएर नै होला, चुनाव अगाडि र चुनावको नतिजा आउदासम्म भावि सरकारको नेतृत्वमा कांग्रेसका विरुद्ध एक शब्द उच्चारण गर्न नसकेका माओवादी अध्यक्ष पोखरा पुगेर छिट्टै आफूले देशको नेतृत्व गर्ने अभिव्यक्ति दिए । चुनाव जितेर काठमाडौं फर्केपछि पार्टी सभापति देउवाको दूत बनेर खड्काले प्रचण्डसंग भेटवार्ता गरेका थिए । कुरो त्यहिबाट बिग्रदै गएको बालुवाटारले अहिले विश्लेषण गरिरहेको छ ।

नेपाली कांग्रेसलाई कमजोर बनाउन पूर्णबहादुर खड्काको भूमिका २०५१ सालमा ३६ समूहको उत्पति भएदेखि नै देखिएको हो । संसदमा प्रस्तुत भएको धन्यवाद प्रस्ताव पारित गर्न तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राखेको प्रस्तावलाई फेल नगर्न तात्कालीन गृहमन्त्री शेरबहादुर देउवा, कृषि मन्त्री रामचन्द्र पौडेल लगायतका नेताहरुले आग्रह गर्दा पनि नमान्ने यिनै खड्का थिए ।

त्यो ३६ को जन्मले नेपालमा कम्युनिष्टहरुलाई सत्तामा पुर्यायो । लोकतन्त्रको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्यो । त्यसको असर अहिलेसम्म देशले भोगिरहेको छ । कहिलेसम्म भोग्छ, भन्न सकिन्न ।

अहिले पनि लोकतन्त्र सुरक्षित छैन । विभाजित नभएको नेपाल कम्युनिष्ट पार्टी र विभाजन पछि नेकपा एमालेको सरकारले राज्यलाई लगभग कब्जा गरेका थिए । टुटेफुटेका कम्युनिष्ट र मधेशवादी शक्तिलाई लिएर नेपाली कांग्रेसका सभापति देउवाले सरकारको नेतृत्व गरी संसदलाई पूर्णकाल चलाए । स्थानीय र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन निश्पक्ष, धाँधलीरहित रुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराए ।

देउवाको नेतृत्वमा यो कार्यकालमा लोकतन्त्र बलियो भएको छ । हस्तक्षेपरहित शासन र प्रशासन चलेको छ । राज्य कम्युनिष्ट आतंकबाट मुक्त भएको छ । राज्यका निकायहरुले आफ्नो काम गर्न थालेका छन् । तर यही बेलामा महत्वाकांक्षी स्वार्थी नेताहरु भने कम्युनिष्टलाई उचालेर कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवालाई राजनीतिको खेल मैदानबाट बाहिर धपाउन खोजिरहेका छन् ।

नेपाल अहिले विदेशी शक्ति राष्ट्रको खेल मैदान बन्ने हो कि भन्ने आशंका बढिरहेको बेलामा विदेशी शक्तिबाट सञ्चालित कम्युनिष्टहरुलाई राज्यको तालाचावी सुम्पिने वातावरणमा पूर्ण खड्का जस्तो नेता देखिनु आफैमा आश्चर्य हो ।