१७ भाद्र २०८३, बुधबार
Follow Us

एनआरएनएद्वारा २५० जना बाढीपीडितलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०८३, बुधबार १८:५८

लण्डन । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान सातौँ दिन पनि निरन्तर जारी रहेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित पहिलो गुम्बामा आश्रय लिइरहेका परिवार तथा बालबालिकाको दैनिक जीवन सहज बनाउन एनआरएनएको तर्फबाट ६ वटा कूलर र दुई थान डीप फ्रिज हस्तान्तरण गरिएको छ।

आश्रयस्थलमा बसिरहेका परिवार तथा बालबालिकालाई गर्मीबाट राहत पु¥याउने तथा खाद्यान्न र तरकारी सुरक्षित रूपमा भण्डारण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गोसाइँकुण्ड गाउँपालिका–१ का वडा अध्यक्ष उर्केन छिरिङ तामाङलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।

यस्तै, बाढी तथा डुबानबाट प्रभावित महिलाको स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै १०० प्याकेट सेनेटरी प्याडसमेत हस्तान्तरण गरिएको छ।

एनआरएनएको आयोजना तथा नेपाल मेडिसिटी र ललितपुर महानगर अस्पतालको सहकार्यमा बाढी प्रभावित नुवाकोटको बाघटारमा सञ्चालन हुने स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ। यसअघि बुधबार एनआरएनएको सचिवालयमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री गिरबहादुर तामाङसँग भएको छलफलपछि प्रदेश सरकारको समन्वयमा त्रिशूली प्रादेशिक अस्पतालमा उक्त स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो।

शिविरको नेतृत्व ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेल र एनआरएनए आईसीसी सदस्य डा. सञ्जीव सापकोटाले गर्नुहुनेछ। स्वास्थ्य टोली बिहीबार, भदौ १८ गते बिहान ८ बजे नुवाकोटतर्फ प्रस्थान गर्नेछ।

शिविरमा करिब २५० जना बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श, औषधि वितरण, सरसफाइसम्बन्धी सचेतना कार्यक्रमका साथै विपद् व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी तालिम प्रदान गरिनेछ।

यसैबीच, विनाशकारी बाढीबाट प्रभावित रसुवाको अवस्थाबारे जानकारी लिन एनआरएनएको टोलीले गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल तथा कालिका गाउँपालिका–४ (धुसेनी) का वडा अध्यक्ष खेसम तामाङसँग भेट गरेको छ।

एनआरएनएको सचिवालयमा भएको भेटका क्रममा प्रभावित क्षेत्रको वर्तमान अवस्था, स्थानीय नागरिकले भोगिरहेका समस्या तथा तत्काल आवश्यक सहयोगबारे जानकारी लिइएको थियो। साथै, प्रभावित नागरिकसम्म आवश्यक राहत तथा मानवीय सहयोग प्रभावकारी रूपमा कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो।

धेरै पढिएको