१६ बैशाख २०८१, आईतवार
Follow Us

तिम्रो मेरो साथले सम्पन्न ग-यो मोफसल यात्रा

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७९, मंगलवार ०५:११

काठमाडौं । सुस्ताएको नेपाली सिनेमाको बजारलाई तताउन एक साता अघि देशव्यापी यात्रामा निस्किएको चलचित्र ‘तिम्रो मेरो साथ’को टिमले आफ्नो यात्रा सम्पन्न गरेको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा गएर सम्पन्न भएको निर्माण पक्षले जनाएको छ ।

टिमले पोखरा, चितवन, हेटौंडा, लालबन्दी, इटहरी र दमकमा फिल्मको प्रोमोस्नल कन्सर्ट सम्पन्न गरेको छ ।

फिल्मका कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिमले मोफसल यात्रा सम्पन्न गरेको हो । सिनेमामा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।

आफुहरु मोफसल यात्रासकेर काठमाडौं आइपुगेको र अब फिल्मको तर्फबाट विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीमा जुटेको निर्देशक निर्देशक पौडेलले बताएका छन्,‘मोफसलमा दर्शक र मिडियाको न्यानो साथ पाएको सबै जना सिनेमालाई लिएर उत्साहित रहेको मैले देखेँ । हामीले चलचित्रलाई २९ पुषबाट रिलिज गर्दैछौं ।’

प्रेमकथामा आधारित सिनेमाको ट्रेलर र गीत संगीतले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएकाले सिनेमाले पनि राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रहेको पनि उनले बताए ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।