काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन्। उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्रीको यात्राको गन्तव्यबारे भने धादिङ प्रहरीले अनभिज्ञता प्रकट गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतले प्रधानमन्त्रीसहितको टोली केहीबेर पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा रोकिएको तर थप केही थाहा नभएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको बताए। उनका अनुसार प्रहरीले भने भ्रमणबारे आफूहरूसँग जानकारी मागेको थियो। प्रधानमन्त्री मुस्ताङ जाने कार्यक्रम रहेको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत यसबारे औपचारिक जानकारी पुगेको छैन। मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको बताए। यद्यपि सुरक्षा प्रबन्ध गर्न समस्या नरहेको उनको भनाइ छ।
सुरक्षा निकायलाई औपचारिक जानकारी नभए पनि प्रधानमन्त्री शाहको पोखरा भ्रमण निश्चित रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी शुक्रबार अपराह्न पोखरा पुग्नेछन्। पोखरा पुगेपछि प्रधानमन्त्री शाह कास्कीको अन्नपूर्ण गाउँपालिका–अस्तामस्थित एक रिसोर्टमा रात बिताउने तयारी छ। उनका लागि उक्त रिसोर्ट बुक भइसकेको बताइएको छ।