१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्यानचेस्टर सिटी बाहिरियो

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७९, बिहीबार ०६:०१

लन्डन । म्यानचेस्टर सिटीको इङ्लिस लिग कप (इएफएल) उपाधि जित्ने योजना सकिएको छ । बुधबार  राति भएको क्वार्टरफाइनलमा साउथह्याम्पटनसँग २–० ले पराजित भएसँगै सिटीको उपाधि जित्ने योजनामा असफल भएको हो । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रमुख खेलाडीलाई विश्राम दिएका थिए । जुन निर्णय महंगो साबित बन्यो ।

सेमिफाइनल प्रवेश गरेको साउथह्याम्पटनको जितमा सेखु मारा र मौसा डिजेन्पोले गोल गरेका थिए । ग्वार्डिओलाले एर्लिङ हाल्यान्ड, केभिन डि ब्रुयना, बर्नाडो सिल्भा र इन्डरसनलाई पहिलो रोजाईमा राखेका थिएनन ।

सिटीले शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । सोही खेललाई लक्षित गर्दै ग्वार्डिओलाले प्रमुख खेलाडीलाई आराम दिएका थिए । यता नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

रियल मड्रिड फाइनलमा
रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल उपाधि नजिक पुगेको हो । पछिल्लो पाँच सिजनमा रियलले तीनपटक सुपर कपको उपाधि जितेको छ ।

निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । ३९औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियलले अग्रता लिएको थियो । ४१औं मिनेटमा स्यामियोल लिनोले भ्यालेन्सिया खेलमा फर्काएका थिए ।

पेनाल्टी सुटआउटमा रियलका बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुज र मार्को एसेन्सियोले गोल गरे  । भ्यालेन्सियाका इडसन काभानी, ह्युगो गुइलामोन र मोरिबाले मात्र गोल गरे । फाइनलमा रियलले स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलाना र रियल बेटिसको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।