६ बैशाख २०८१, बिहीबार
Follow Us

‘ह्यारी कि प्यारी’ मोफसल यात्रामा

नेपालब्रिटेन संवाददाता
२ माघ २०७९, सोमबार ०६:१९

काठमाडौं । प्रदर्शनी मिति नजिकिँदै गर्दा चलचित्र ‘ह्यारी कि प्यारी’को युनिट कलाकार सहित मोफसल यात्रामा निक्लिएको छ । उनीहरुले शनिबारबाट मोफसल यात्रा सुरुगरेका हुन् ।

यो चलचित्रको मोफसल यात्रा नेपालगंजदेखि सुरु भएको छ । नेपालगंजबाट अनौपचारिक रुपमा सुरु भएको यो यात्रा चितवनबाट औपचारिक रुपमा अगाडी बढेको छ ।

मोफसल यात्रामा यो चलचित्रका निर्देशक डा. कपिल रिजालसंगै कलाकारहरु जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायत छन् । डा. रिजालसहितको यो टिम शनिबार पर्यटकीय नगरी चितवन पुगेको थियो ।

सो चलचित्रका कलाकारहरुले चितवन महोत्सवमा आफ्नो प्रस्तुति दिएका छन् । अभिनेता जितुले महोत्सबमा आफ्नो सिनेमाको बारेमा बताउने क्रममा दर्शकलाई खुबै हँसाएका छन् । यस्तै अभिनेत्री साम्राज्ञी मञ्चमा उत्रँदा दर्शकहरुले हुटिङ गर्दै यो चलचित्रको सम्बाद सुनाउन आग्रह गरेका थिए । अभिनेत्री साम्राज्ञीले पनि दर्शकको मन जितेकी छिन् ।

फिल्मका कलाकारसँगै यो मोफसल यात्रामा चलचित्रका गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलपनि सोमबारबाट जोडिने भएका छन् । अन्य शहरमा यी कलाकारहरुले फिल्मको गीत प्रस्तुत गर्ने भएका छन् ।

७ माघसम्म जारी रहने यो यात्रामा चितवनपछि कलाकारहरुले पर्सामा दर्शकलाई भेटेका छन् । अब पोखरा हुँदै, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडमा पुगेर यो चलचित्रको कन्सर्ट गर्दै मोफसल यात्रा उनीहरुले सम्पन्न गर्ने छन् । यी शहरहरुमा फिल्मका कलकारहरुले त्यहाँको महोत्सवसंगै बिभिन्न क्याम्पस, मलमा कन्सर्ट गर्ने छन् । साथै मिडियासंग अन्तरक्रिया पनि गर्ने छन् । फिल्म यही २० माघबाट रिलिज हुनेछ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल÷शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।