१८ बैशाख २०८१, मंगलवार
Follow Us

नागरिकता विधेयक तत्काल अघि बढाउन गैरआवासीय नेपालीको माग

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७९, शनिबार ०४:०५

लण्डन । गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसदमा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघले शनिवार बिहान नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतक सहित दलका नेताहरुसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो बताएको हो । संघले नागरिकता सम्बन्धी कानून नबनेका कारण धेरै गैरआवासीय नेपालीहरु अप्ठ्यारोमा परेकाले चिन्ता व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले स्थापनाकालदेखि उठाउदै आएको नेपालीको नागरिकताको निरन्तरताको मुद्धा थप जटिल बन्दै गरेको बताइन् । थाापाले रवि लामिछाने बिरुद्धको फैसलाले तरिंगित र सशंकित बनाएको अभिव्यक्ति दिइन् । गैरआवासीय नेपाली संघ नेपाल सरकारका अतिरिक्त देशका सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँद संसदमा थाँती रहेको एनआरएनए सम्बन्धी नागरिकतालाई अगाडि बढाउन उनको आग्रह थियो ।

संघका अर्का अध्यक्ष डाबद्री केसीले राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक छलाङले विदेशमा रहेका नेपालीहरु उत्साहित रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताले गैरआवासीय नेपाली भन्दा नेपाललाई धेरै लाभ हुने विचार व्यक्त गरे । नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरे पनि अहिलेसम्म नागरिकता वितरणको लागि कानूनी बाटो नखोलिएको प्रति उनले ध्यानार्कण गराए । गैरआवासीय नेपाली सम्बन्धी ऐन २०७७ ल्याउनको लागि गृहकार्य गरिए पनि संसदबाट विधेयक पारित नहुदा अधिकारहरु पाउने भने पनि अहिले सम्म अधिकार हात नपरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकताको विषय नेपालमा निकै पेचिलो बन्दै गएको बताए । उनले गैरआवासीय नेपालीहरु राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति केन्द्र भएको बताए । उनले भने, गैरआवासीय नेपालीसंग काम गर्न सकेको भए राज्यले अहिले सम्म मुहार फेरि सकेको हुन्थ्यो । राज्यले अहिले सम्म नागरिकता दिन नसक्नु दुःखको कुरा हो । उनले गैरआवासीय नेपालीले सिकेको ज्ञान र सिपलाई राज्यको नीति निमार्णमा समेत युटिलाइज गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा ८ प्रकारका गैरआवासीय नेपालीहरु बसोबास गर्दै आएको बताउँदै विद्यमान संवैधानिक व्यवस्थाले सबै नेपालीहरुलाई नसमेट्ने विचार व्यक्त गरे । कार्यक्रममा डा. शर्माले विदेशमा बस्ने नेपालीहरुको सम्बन्धमा हाल सम्म बनेका कानून प्रावधानको बारेमा बिस्तृत विवरण प्रस्तुत गरेका थिए ।

शर्माले संविधानमा प्रस्ताव गरिएको नागरिकतामा राजनीतिक तथा प्रशासनिक अधिकारलाई संकुचन गरेर नागरिकतामै विभेद गरिएको बताए । उनले गैरआवासीय नेपालीको अधिकारहरुलाई सुनिश्चित गर्न एनआरएनए विधेयक र एनआरएनए ऐन तत्कालै संसदबाट पारित गर्नुपर्ने बताए । उनले गैरआवासीय नेपालीहरुलाई मताधिकार प्रदान गर्न आवश्यक कानून निमार्ण गर्न माग गरे ।

कार्यक्रममा संघको नागरिकता सम्बन्धी एक समितिका संयोजक दुर्गा आचार्यले एनआरएनएको मागसँग नेपालका सबै राजनीतिक दलहरु सहमत भए पनि समयभित्र नागरिकता विधेयक अघि बढाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले नागरिकता ऐनलाई सदनबाट पारित गर्नको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेतृत्व दिन अनुरोध गरे ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय राणाले गैरआवासीय नेपाली सम्बन्धी परिचय पत्रनै विभेदपूर्ण रहेको बताए । उनले गैरआवासीय नेपालीहरुलाई पूर्णअधिकार दिएर आर्थिक तथा समाजिक क्षेत्रमा लाग्न मार्ग प्रशस्त गर्नु पर्ने बताए । उनले कानूनी जागरणको लागि काम गर्न एनआरएनएलाई आग्रह गरे ।

सरकारको नीति तथा कार्यक्रममा विदेशमा बस्ने नेपालीको मदाधिकारको व्यवस्था गर्ने विषयले प्रवेश पाएको बताउँदै गैरआवासीय नेपाली अभियानमा जोडिएर आफूले काम गर्न व्यक्त गरे । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले संचालन गरेको कार्यक्रममा संघका पदाधिकारी तथा गैरआवासीय नेपालीहरुको उपस्थिति थियो ।