१७ असार २०८३, बुधबार
Follow Us

अमेरिकामा जन्मिने बालबालिकाले जन्मसिद्ध नागरिकता पाउने, ट्रम्पको प्रतिबन्ध अस्वीकृत

नेपालब्रिटेन संवाददाता
१७ असार २०८३, बुधबार ०३:४४

अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ।

अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ।

मंगलबार सार्वजनिक गरिएको फैसलामा अदालतले अमेरिकी संविधानको १४औँ संशोधनको व्याख्यालाई समर्थन गर्दै गैरकानुनी रूपमा वा अस्थायी रूपमा अमेरिकामा बसिरहेका अभिभावकबाट जन्मिएका बालबालिकालाई नागरिकताबाट वञ्चित गर्न नसकिने स्पष्ट गरेको हो।

ट्रम्प प्रशासनले अमेरिकामा अवैध वा अस्थायी रूपमा रहेका आमाबुबाबाट जन्मिएका बालबालिकालाई स्वतः अमेरिकी नागरिकता नदिने उद्देश्यले कार्यकारी आदेश जारी गरेको थियो। तर विभिन्न संघीय अदालतले उक्त आदेश कार्यान्वयनमा रोक लगाएका थिए।

जन्मसिद्ध नागरिकताको फैसलापछि विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएका छन्। ल्याटिनो नागरिक अधिकार संगठनहरूले अदालतको निर्णयलाई संविधानको विजय भन्दै स्वागत गरेका छन्।

लिग अफ युनाइटेड ल्याटिन अमेरिकन सिटिजन्सले ‘अमेरिकी भूमिमा जन्मिएको प्रत्येक बच्चा अमेरिकी नागरिक हो भन्ने संवैधानिक सिद्धान्तलाई अदालतले पुनः पुष्टि गरेको’ जनाएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै अमेरिकामा जन्मसिद्ध नागरिकताको संवैधानिक व्यवस्था यथावत् रहने भएको छ भने ट्रम्प प्रशासनको त्यसलाई सीमित गर्ने प्रयासमा ठूलो कानुनी झट्का लागेको छ।

धेरै पढिएको