१३ बैशाख २०८१, बिहीबार
Follow Us

व्यवसायी सूर्य गुरुङद्धारा पोखराको बगर भाई खलकलाई ५ लाख सहयोग

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७९, बुधबार ०४:३३

लण्डन। विदेशमा बस्ने नेपालीहरुलाई आफ्नो मातृभूमीका लागि केही गरौं भन्ने भावनाले संधै कुत्कुताई रहन्छ । ति मध्ये एक हुन यूकेका च्यारिटी किङले प्रख्याती कमाएका सूर्य गुरुङ । पोखरा जन्म थलो भएका उनमा कुनै स्वार्थ छैन । मनका धनी उनी आफ्नो व्यवसायलाई समाजसेवाको एक अङ्गको रुपमा स्थापित गरेका छन् । लामो समय देखि यूकेमा रहेर यूकेका प्रवुद्ध वर्गहरुको मन जित्न सफल उनी गोर्खा प्यालेस रेष्टुरेन्टका सञ्चालक हुन् । जुन रेष्टुरेन्ट रजत वर्षको पर्खाइमा समेत छ । गोर्खा प्यालेस धेरै यूवाहरुको जिवन निर्वाहको माध्यम मात्रै होइन सबैको ढुकढुकी समेत बन्न सफल भएको छ ।

पोखरा जन्म थलो रहेका सूर्यले गोर्खा प्यालेसको २४ औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरे । ३ हजार पाउण्ड करिब ५ लाख रुपैया संकलन समेत गरे । अव उनले त्यो रकम बगर भाई खलकलाई हस्तान्तरण गर्दै छन् । भाइखलकले गरिव तथा निमुखावर्गका बालकहरुका लागि सुरुवात गरेको ग्रास रुट लेभल फुटबल प्रशिक्षण अक्षयकोषका लागि उनले सहयोग गर्ने भएका हुन् ।

शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्दै आएका सूर्यले यस पटक आफ्नो जन्म थलोमा सुरु भएको नयाँ अभियानमा आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । “म आफू जन्मेको हुर्किएको र खेलको ठाउँ । अग्रज दाईहरुले निस्वार्थ रुपमा स्वयंसेवी रुपमा आफ्नो अभियानलाई अघि बढाउनु भएको छ । म पनि त्यो निस्वार्थ भावनाको एक हिस्सा हुन चाहेकोले सहयोगको हात बढाएको हुँ,” उनले भने ।

पोखरा रंगशाला निर्माणमा यूकेमा सहयोग संकलनमा संयोजकको भूमिका निर्वाह गरिसकेका सूर्यले अग्रजहरुले पोखराको खेलकुद विकासमा निस्वार्थ सेवाको भावनालाई संधै आत्मसात गरिरहेको बताउँदै शरिरिकरुपमा आफू उपस्थित भएर सहयोग गर्न नसके पनि विदेशबाट सानो सहयोग कोसेली स्वरुप मन बाटै सम्झिएको बताए । उनले भने–“मैले यस अघि शिक्षाको विकासका लागि सहयोग गर्दै आएको थिंए । तर भाई खलकले सूरु गरेको कार्यक्रमले गरिव तथा निमुखा बालबालिकालाई खेलकुदमार्फत प्रोत्साहन गरेको छ । यसमा उनीहरुको शिक्षा समेत जोडिएको छ । जुन महत्वपूर्ण विषय हो ।”

भाइ खलकले गरेको कार्यक्रम नतिजामुखी कार्यक्रम भएकोले सहयोगको हात अघि बढाएको बताउँदै सूर्यले यस्तो सहयोग निरन्तर रहि रहने समेत जनाए । उनले भने–“म मातृभूमीको लागि केही गर्नु पर्छ भन्ने विषयमा संधै गर्व गर्छु । धेरै साथीहरुलाई यसबाट प्रभावित मात्रै होइन खुसी हुनु भएको छ । भोलीका कर्णधारहरु एक सवल र सक्षम नागरिक भएर उत्पादन हुन सकुन् । जसबाट सहयोग गर्नेहरु पनि खुसी हुन सकुन् भने यसमा आफ्नो समय खर्चिनेहरुको मन पनि संधै हाँसी रहोस ।”

गोर्खा प्यालेसको वार्षिकोत्सवमा आफूनो रेष्टुरेन्टमा आउने आफ्ना ग्राहकहरुलाई मात्रै निमन्त्रणा गरेको जानकारी दिंदै समाजसेवी गुरुङले त्यही वार्षिकोत्सवमा उहाँहरुले च्यारिटीका लागि सहयोग गरेको बताए । “हाम्रो यो कार्यक्रम नितान्त पारिवारिक थियो । मेरी छोरी सिल्भियाले कार्यक्रम होस्ट गरिन । छोरा साकारले स्वागत गरे । हामीले आउने पाहुनाहरुलाई सदा झैं नेपाली आत्मियताका साथ स्वागत ग¥यौं,” उनले भने–“यो रेष्टुरेन्ट व्यवसायिक रुपमा मात्रै होइन यहाँबाट च्यारिटी मार्फत संकलन भएको रकमले धेरैको मन जोडेको छ । यसै कारण हामी हाम्रो विगतको परम्परा र संस्कृतीलाई स्थापित गर्न चाहन्छौं ।” कार्यक्रममा बेलायतका महामहिम राजदुत, रोशमरो शहरका मेयर तथा उच्चपदस्थ व्यक्तित्वहरु उपस्थित रहेको जानकारी दिए ।

बगर भाइ खलकले करिव एक वर्ष अघिबाट सुरु गरेका ग्रास रुट लेभल फुटबल प्रशिक्षणका लागि स्थापना गरेको अक्षयकोष लागि यूकेबाट सूर्य गुरुङले गरेको सहयोगका लागि अध्यक्ष दिल बहादुर गुरुङले आभार व्यक्त गरेका छन् ।

भाइ खलकले अभियानलाई अघि बढाउँदै अक्षयकोषलाई एक करोड बनाउने जनाएका छन् ।

बेलायतमा लामो समय देखी परोपकारी काममा सकृय गुरुले नेपालमा गएको महाभूकम्पको बेला नेपाली दूतावास लण्डनद्धारा संचालिक सहयोग संकलन अभियानमा करोडौं रुपैयाँ सहयोग संकलन गरेका थिया । उनले शिक्षा, खेलकुद र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएका छन् । विद्यालयमा निर्माण र पुस्तकालयको स्तरोन्नती साथै बेलायत स्थित अस्पतालहरुमा समेत व्यक्तिगत र च्यारिटी मार्फत सहयोग गर्दै आएका छन ।

उनले २०५८ सालमा पोखरा रंगशालाको पर्खाल निर्माण गर्दा बेलायतमा पर्खाल निर्माण समितीको संयोजक भएर ५० लाख संकलन गरे पछि उनी चर्चामा आएका थिए ।