१६ चैत्र २०८०, शुक्रबार
Follow Us

इङ्लिस क्लब आर्सनल युरोपा लिगबाट बाहिरियो

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७९, शुक्रबार ०५:१८

लन्डन । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको इङ्लिस क्लब आर्सनल युइएफए युरोपा लिगबाट बाहिरिएको छ । आर्सनल युरपा लिगको प्रि क्‍वाटर फाइनलको दोस्रो लेगमा आफ्नै घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग पराजित हुन पुगेको हो ।

पहिलो लेगमा २-२ गोलको बराबरी खेलेको आर्सनल दोस्रो लेगमा १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । पेनाल्टी शुटआउटमा स्पोर्टिङ सिपीले ५-३ को गोल निकाल्दा समग्रमा आर्सनल ६-८ गोलले पराजित हुँदै युरोपा लिगबाट बाहिरिन पुगेको हो ।

पहिलो हाफ १-० ले पछि परेको स्पोर्टिङ सिपीले दोस्रो हाफको ६२औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा पुर्‍याएको थियो । अतिरिक्त समयमा रातो कार्ड खाँदै दश खेलाडीमा सिमित स्पोर्टिङ सिपीमाथि आर्सनलले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा गएको थियो ।

आर्सनलका ग्याब्रियल मार्टिनेलीले प्रहार गरेको चौथो पेनाल्टी गोल हुन नसकेपछि स्पोर्टिङ सिपीले जीत हात पार्दै क्‍वाटरफाइनलको यात्रा तय गरेको हो ।

यसैगरी आजै भएका अन्य खेलमाहरुमा जर्मन क्लब बायर लेभरकुशेन, इटालियन क्लब रोमा र बेल्जियम क्लब युनियन सेन्ट गिलोशीले पनि जीत निकाल्दै क्‍वाटरफाइनलमा आफ्नो स्थानमा सुरक्षित बनाएका छन् ।