काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन अहिले नयाँ अवसर र चुनौतीको चरणमा रहेको उल्लेख गर्दै एक निर्वाचनको परिणामलाई आधार बनाएर आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्न नहुने बताएकी छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले बदलिँदो राजनीतिक परिवेशमा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन गम्भीर आत्मसमीक्षा, आत्ममन्थन र रचनात्मक पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरिन्।
भण्डारीले समयानुकूल नवप्रयोग, संगठनात्मक सुधार तथा जनतासँगको निरन्तर संवादमार्फत कम्युनिस्ट आन्दोलनको सान्दर्भिकता, प्रभावकारिता र भविष्यप्रतिको विश्वासलाई अझ मजबुत बनाउन सकिने विश्वास व्यक्त गरिन्।
उनले बदलिँदो जनअपेक्षा र राष्ट्रिय आवश्यकताअनुसार नीति, नेतृत्व, संगठन र कार्यशैलीमा अपेक्षित रूपान्तरण गर्न नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याइन्।
युवा पुस्ताको आकांक्षा, डिजिटल युगले सिर्जना गरेका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताजस्ता विषयमा समयसापेक्ष दृष्टिकोण विकास गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सके कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र जनमुखी बनाउन सकिने उनको भनाइ थियो।