७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘बहुआयमिक काइँला दाइ’

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७९, मंगलवार २०:३२

दल शेर्पुजा ।

चिम्खोले काइँलाको जन्म पिता शेरबहादुर गर्बुजा र माता जनिमा गर्बुजाको आठ भाइ छोरा र पाँच बैनी छोरीमध्ये काइँला छोराको रुपमा वि. सं. २०१८ मा म्याग्दी जिल्लाको चिम्खोला गाउँमा निम्न माध्यम वर्गीय परिवारमा भएको हो । चिम्खाला गाउँ जिल्ला सदरमुकामदेखि सुदूर तर प्रशस्त प्राकृतिक स्रोत र साधन भएको, कला र संस्कृतिको उद्गमस्थल, धार्मिक आस्थाको केन्द, लोक सुसेलीको उर्वर भूमि, अत्यन्त मनमोहक एवम् आकर्षक गाउँ हो । काइँला दाइको बाल्यकालबारे मलाई त्यति जानकारी छैन । किशोर अवस्था (बेलायती सेनामा प्रवेश गर्नुपूर्व र गरिसकेपछि) को बारेमा उहाँको सहोदर भाइहरु अमृत गर्बुजा, निलम गर्बुजा र मोना हङकङको अध्यक्ष कर्ण पुनको मुखारबिन्दुबाट पटकपटक सुनेको छु । उहाँहरुको भनाइअनुसार चिम्खोले काइँला दाइ सानैदेखि एक अदभूत क्षमता भएको व्यक्ति हुनुहुँदो रहेछ भन्ने मैले पुष्टि गरेको छु । उहाँले माध्यमिक तहसम्म शिक्षा आर्जन गर्दा गरेको कठिन संघर्ष हितैषी मित्र कर्ण पुनबाट सुन्दा कतै दन्त्यकथाजस्तो त कतै चलचित्रको काल्पनिक कथाजस्तै लाग्थ्यो । माध्यमिक शिक्षा उत्तीर्णपश्चात शिक्षण पेशा अँगाल्दा होस् या बेलायती सेनामा प्रवेश गरेर आफ्ना निम्न वर्गीय परिवारलाई मध्यम वर्गमा उकास्न र आफ्नो नाबालक भाइहरुलाई दीक्षित गराउन काइँला दाइले गरेको अथक प्रयासहरु ज्यादै अनुकरणीय र हृदयस्पर्शी छन् । चिम्खोले काइँला दाइ र योगकुमार फगामी (मोना युकेका पूर्वअध्यक्ष) दाइको पारिवारिक र समाजिक मोहलाई मैले अनुकरण गर्न निकै खोजेँ । तर, नक्कल गर्नेको पनि अड्कल चाहिने रहेछ । मेरो ढङ्गै पुगेन ।

चिम्खोले काइँला दाइसँग मेरो पहिलो भेट उहाँ बेलायती सेनामा प्रवेश गरिसकेपछि वि. सं. २०४६ तिर पोखराको नदीपुरमा भएको हो । त्यतिखेर उहाँको भाइ मेरो आत्मीय मित्र निलम गर्बुजा र मैले पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्थ्यौँ । त्यो बेला उहाँ घरजमको चटारोमा हुन्थ्यो । हाम्रो बीचमा खासै लामो कुराकानी भएन । जति बोल्नुभयो रसिलो, हँसिलो रङ्गिलो पाराले बोल्नुभएको थियो । उहाँसँग मेरो दोस्रो भेट उहाँ बेलायती सेनामा कार्यरत रहँदै सन् १९९६ तिर हङकङमा भएको हो । मलाई लाग्छ हाम्रो पहिलो र दोस्रो भेटबारे उहाँलाई स्मरण छैन होला । दोस्रो भेटमा उहाँमा नेपाली साहित्यप्रतिको अगाध माया र रुचिले घर गरिसकेको थियो । कलम र बन्दुकलाई सँगसँगै चलाउनुहुन्थ्यो । सामान्यतया कलम र बन्दुकलाई परस्पर विरोधी ठान्छन् मान्छेहरु । परन्तु यी परस्पर विरोधी हतियारहरुलाई पनि आपसमा समन्वय गरेर लैजान सक्ने दुर्लभ सर्जक हुनुहुन्छ काइँला दाइ । अचेल चिम्खोले काइँला प्रतिष्ठित साहित्यकार, सर्जक÷स्रष्टाको रुपमा स्थापित भई नेपाली साहित्यलाई अहोरात्र योगदान गरिराख्नुभएको छ । उहाँका दर्जनौँ कृति÷ सिर्जनाहरु प्रकाशित भइसकेका छन् ।

चिम्खोले काइँलासँग मेरो तेस्रो र चौथो भेट सन् २०११ मा म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले म्याग्दी जिल्लालाई उपलब्ध गराएको तीनवटा एम्बुलेन्स (तत्कालीन अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा) हस्तान्तरण समारोहमा र सन् २०१३ मा बेगखोला– बेगस्थित कृषि सडक तथा बेग– चिम्खोला मोटर बाटोको उद्घाटन समारोह र मोना हङकङद्वारा म्यादी जिल्लाको फरक क्षमता भएका बालबालिकाहरुले अध्ययन गर्ने तीनवटा विद्यालय (धवलागिरि मावि सिङ्गा बहिरा, ज्ञानोदय मावि राखुको मौवाफाँट, दृष्टिविहिन र बालजप्राप्ति प्रावि बगुवाखोला बौद्धिक अपाङ्गता) मा उक्त प्रकृतिका बालबालिकाहरुको सहयोगार्थ स्थापना गरिएको प्रति विद्यालय ११÷११ लाख रुपैयाँको अक्षयकोष हस्तान्तरण कार्यक्रममा गृहजिल्ला म्याग्दीमा भएको हो । यी दुवै कार्यक्रममा हामी म्याग्दीका दाना, तातोपानी, घोडेपानी, तिप्लेङ, बेग, चिम्खोला, राखु मौवाफाँट, बेनी, बगुवाखोला, सिङ्गा, दरबाङ, च्युरीबोट, बिमलगायतका कार्यक्रमहरुमा भाग लिने अवसर मिलेको थियो । त्यतिबेला उहाँले बेलायती सेनाबाट अवकाश प्राप्त गरी समाज सेवामा समाहित भई मगर संघ युकेको अध्यक्ष, बेलायतबाट प्रकाशित हुने साप्ताहिक पत्रिका एभरेष्ट टाइम्सको प्रबन्ध निर्देशकलगायत विभिन्न सामाजिक संघ संस्थाको कुशल नेतृत्व गर्दै हुनुहुन्थ्यो । त्यहीबेला हाम्रो दोहोरो चिनजान भएको हो । जुन समयमा उहाँलाई मैले नजिकबाट चिन्ने मौका मिलेको थियो ।

पत्रकारिता आफैँमा एक जोखिमपूर्ण पेशा हो । अचेल च्याउ उम्रेसरह बग्रेल्ती उम्रेका अनलाइन मिडियाहरुको जगजगमा प्रवासको शहरमा बसेर अक्षरको खेती गर्नु कम चुनौतीपूर्ण छैन । तर पत्रकारिताको मर्मविपरीत कमाउ धन्दा र विकाउ पत्रकारिताको नाउँमा चिम्खोले काइँलाले आफ्नो कलमको निभलाई कहिले नालीमा चोपलेको पाइनँ । बरु हरेक चुनौतीको सामना गर्दै अनवरत आफ्नो कलमको निभलाई पवित्र मसीमा चोपलिरहनुभयो, सत्यतथ्य सूचना प्रवाह गरिरहुनभयो र आफूलाई एक निडर र निष्ठावान पत्रकार तथा सञ्चारकर्मीको रुपमा स्थापित गर्न सफल हुनुभयो । डिजिटल पत्रकारिताको कारणले गर्दा बेलायतमा छापा पत्रिकाहरु जन्मँदै मार्दै थिए । उहाँ आबद्ध एभरेष्ट टाइम्स पनि मरिसकेको थियो । तर चिम्खोले काइँलाले प्रबन्ध निर्देशकको जिम्मेवारी लिएपछि उहाँले मसानघाटमा गएको पत्रिकालाई दस वर्षसम्म जीवित राखेर अर्का सहकर्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।

चिम्खोले काइँला दाइको व्यक्तित्वको बहुआयामिक छ । सबै साहित्यकारहरु समाजसेवी हुँदैनन् । समाजसेवामा हुनेहरुको साहित्य र पत्रकारितामा रुचि नहुन सक्छ तर चिम्खोले काइँलामा कला र संस्कृति रङ्गमञ्च, पत्रकारिता र साहित्यको अनुपम सङ्गम छ । दया, माया करुणा र भावुकताको खानी छ । यिनै बहुआयामिक व्यक्तित्व चिम्खोले काइँलाको साठीऔँ वसन्त पार गरेको, हिरक जन्मोत्सव (म्ष्बmयलम व्गदष्भिभ) को पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको मङ्गलमय कामना व्यक्त गर्दछु । समाजसेवाप्रति उहाँको लगाव अविचलित रहोस् । नेपाली कला, साहित्य र पत्रकारितामा उहाँको कलम अनन्त चलिरहोस्, लाखौँ लाख शुभकामना छ काइँला दाइ ।