५ श्रावण २०८१, शनिबार
Follow Us

म्यानचेस्टर युनाइटेड र न्युकासल विजयी

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७९, बिहीबार ०३:२८

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । बुधबार राति न्युकासल युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई र म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हराएका हुन् ।

तालिकाको तेस्रो स्थानमा रहेको न्युकासल युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई ५–१ ले हराएको हो । वेष्ट ह्यामको मैदानमा भएको खेलमा न्यूक्यासलको जितमा कलुम विल्सन र जोइलिन्टनले समान दुई गोल गर्दा एलेक्सान्दर इसाकले एक गोल थपे । वेस्ट ह्यामका कर्ट जुमाले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यूक्यासललाई सुरूवाती अग्रता दिलाएका थिए । १३ औं मिनेटमा जोइलिन्टने गोल गर्दै न्यूक्यासललाई दोब्बर अग्रता दिलाए । ४० औं मिनेटमा कर्ट जुमाले गोल गर्दै वेष्ट ह्यामलाई २–१ को स्थितिमा ल्याए ।

४६ औं मिनेटमा विल्सनले व्यक्तिगत दोस्रो गर्दै न्यूक्यासललाई ३–१ को अग्रता दिलाए । ८२ औं मिनेटमा इसाकले गोल गर्दै न्यूक्यासललाई ४–१ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा जोइलिन्टनले व्यक्तिगत दोस्रो गर्दै न्यूक्यासललाई ५–१ को जित दिलाए । प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई १–० ले हराएको हो ।

युनाईटेडको जितमा मार्कस रास्फोर्डले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा गोल गरेका थिए । बुधबार रातिका खेलहरूपछि प्रिमियर लिगको तालिकामा २९ खेलबाट ७२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा यथावत रहँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ६४ अंकसहित दोस्रो स्थानमा छ । न्युकासल र युनाइटेडले भने २८ खेलबाट समान ५३ अंक जोडेका छन् ।