१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अमेरिकाको विवाद टुंगियो, क्षेत्रीय सम्मेलनको तयारी तिब्र रुपमा गर्ने आइसीसीको निर्णय

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७९, आईतवार १८:२१

लण्डन । गैरआवासीय नेपाली संघको आइसीसी बैठकले एनआरएनए अमेरिकाको विवाद अन्त्य गरेको छ ।

संघका प्रवक्ता सोम सापकोटाका अनुसार शुक्रवार साढे ६ घण्टा चलेको बैठकले एनआरएनए अमेरिकाको सिपी पौडेल समूहलाई संस्थाको आधिकारिक अभिलेखमा राख्ने गरि विवाद टुंग्गो लगाउने निर्णय भएको छ ।

अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकले संघका मेघा परियोजनाहरु ब्लड बस, स्मार्ट रेस्टरुम, पशुपति बृद्राआश्रमलाई तिब्रताका साथ अघि बढाउने निर्णय गरेको छ ।

वैठकले संघको सकृयतामा स्थापना हुने अक्सिजन प्लान्टको लागि आर्थिक संकलन गर्ने, एमआईएस प्रणालीलाई प्रभावकारी बनाउन समिति गठन गर्ने, क्षेत्रगत रुपमा राष्ट्रिय समितिहरुलाई सकृय बनाउन उपमहासचिव तथा सचिवहरुलाई क्षेत्रीय प्रतिनिधिको रुपमा खटाउने, युरोप र क्यानाडामा हुने क्षेत्रीय सम्मेलनहरुको तयारी तिब्र रुपमा गर्ने लगायतका निर्णयहरु भएका छन् ।

बैठकको निर्णयहरु २४ घण्टाभित्र अन्तरिक रुपमा पठाई सक्नु पर्ने निर्णय समेत बैठकले गरेको सापकोटाले जानकारी दिए ।

बैठकले संघको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको तलव भत्ता कार्यसम्पादन मुल्यांकन र कर्मचारी नियमावली बमोजिम पुनर्रवालोकन गर्ने समेत निर्णय गरेको छ । यस्तै संघको केन्द्रीय कार्यालयमा कार्यरत कार्यकारी अधिकृत रवि किरण अधिकारीले बाहिरको अर्को कम्पनीमा काम गरेको सम्बन्धमा नेपालब्रिटेड डट कममा प्रकाशित एनआरएनए सिइओको ७ महिना, दुई स्पष्टिकरण, संस्थाको तलव भत्ता बुझेर अर्को कम्पनीमा व्यस्त समाचारको बारेमा छानविन गर्न संघका महासचिव र उपमहासचिव रहेको एक समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा अध्यक्षहरु कुल आचार्य, रविना थापा, महासचिवद्धय केशव पौडेल र गौरीराज जोशी लगायत पदाधिकारीहरुको उपस्थिति थियो ।