१३ बैशाख २०८१, बिहीबार
Follow Us

लेष्टरमा मनाइयो नयां वर्ष

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७९, मंगलवार १९:५४

लन्डन । श्रृजनशील लेष्टर नेपाल यूकेले विशेष समारोहबीच नेपाली नयां वर्ष मनाएको छ ।

सोमबार लेष्टरस्थित जंगल क्लबमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु रमिला न्यौपाने, सहिमा श्रेष्ठ र शर्मिला बिसीको विशेष परफर्मेन्ससहित कार्यक्रम गरिएको हो । झण्डै ४ सय सहभागी कार्यक्रममा स्थानीय प्रतिभाहरुले पनि बेजोड नाचगान प्रस्तुत गरे ।

प्रमुख अतिथी बेमन्टलिज लेष्टर काउन्सिलर हेमन्त भाटिया र श्रृजनशील लेष्टर नेपाल यूके अध्यक्ष नारायण फुंयालले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए । दुवै देशका राष्ट्रिय गान बजाइएपछि कार्यक्रम अगाडि बढेको थियो ।

पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी काउन्सिलर भाटियाले आयोजकप्रति आभार व्यक्त गर्दै नयां वर्षको शुभकामना दिए । उनले अध्यक्ष नारायण फुंयालको आग्रह बमोजिम लेष्टर नेपाली समाजलाई एउटा हल उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

अध्यक्ष फुंयालले नयां वर्षको शुभकामना दिंदै आउंदो ८ मेमा संस्थाले बेलायती राजाको राज्याभिषेक विशेष रुपमा मनाउन लागेको जनाउंदै प्रायोजक र सहयोगी सबैलाई धन्यवाद दिएका थिए । उनले संस्थाले नेपाली नयां वर्षको आगमनमा शुभकामना आदानप्रदान तथा खुशी सांटासाट गर्न कार्यक्रम गरिएको जनाए ।

संस्थाका महासचिव पुण्डरी अर्यालले सञ्चालन गरेको कार्यक्रममा सचिव टिकाराम गौतमले स्वागत मन्तव्य दिएका थिए । संस्थामा क्रियाशील रहेकी सदस्य माया प्रधान खेरलले अतिथीहरुलाई खादा र ब्याज लगाएर आसन गराएकी थिइन् ।

कार्यक्रममा विशेष अतिथी एनआरएनए आइसीसी युरोप उपसंयोजक दयानिधि सापकोटाले नयां वर्ष शुभकामना दिंदै एनआरएनए नागरिकताबारे प्रष्टयाए । सापकोटाले संस्थाको सामाजिक तथा च्यारिटी कार्यको प्रशंसा पनि गरेका थिए ।

उक्त कार्यक्रममा गुल्मी जिल्ला समाज यूके अध्यक्ष बीर बलाल, संस्थाका संस्थापक अध्यक्ष तथा गल्कोट समाज यूकेका पूर्व अध्यक्ष राजु कंडेल, ग्रान्थाम नेपाली समाजका सल्लाहकार, भण्डारी ब्रदर्श तथा गोल्डेन एभरेष्ट निर्देशक कमल भण्डारी, संस्थाका पूर्व अध्यक्ष पशुपति पोखरेल, अर्का पूर्व अध्यक्ष, ट्रष्टी तथा साझा नेपाली समाजका उपाध्यक्ष प्रेम आलेमगर, हाम्रो नेपाली समाज उल्भरहयाम्पटका पूर्व अध्यक्ष शिव खरेल, कोभेन्ट्री नेपाली समाजका सल्लाहकार गोविन्द सापकोटा लगायतले पनि नयां वर्षको शुभकामना दिएका थिए ।

कार्यक्रममा अतिथीका रुपमा काउन्सिलर पत्नी अन्जुला भाटिया, साझा नेपाली समाजका संस्थापक शंकर भण्डारी, हाम्रो नेपाली समाज उल्भरहयाम्पटनका सागर गैरेसहित बेलायतका विभिन्न शहरबाट आएका नेपाली संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु 
रमिला न्यौपाने, सहिमा श्रेष्ठ र शर्मिला बिसीले बेजोड गीत प्रस्तुत गरेर दर्शक नचाए । सो अवसरमा स्थानीय कलाकार राम बन्जाडेले गायन र लेष्टरकै अन्य बालबालिका एवं कोभेन्ट्री नेपाली समाजका बालबालिकाले समेत नाचगान प्रस्तुत गरेका थिए ।

सो अवसरमा अध्यक्ष फुंयालले विभिन्न प्रायोजक, कलाकार र सहयोगीलाई सम्मानपत्र दिएका थिए ।

नयां वर्ष कार्यक्रममा संस्थाका उपाध्यक्ष शिवलाल गौतमले खाना व्यवस्थापन र कोषाध्यक्ष मधुसुदन पौडेलले अर्थ व्यवस्थापनमा योगदान गरेका थिए । सुरेश केसीले स्पोन्सरहरु जुटाउन सहयोग गरेका थिए ।