११ बैशाख २०८१, मंगलवार
Follow Us

नयां वर्षमा एनआरएनका सपना साकार पार्नु पर्छ : आरके शर्मा, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७९, बिहीबार १८:५६

लण्डन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले नयां वर्षमा विदेशमा कमाएको सीप, पूँजी र अनुभवलाई राष्ट्र विकासमा लगानी गर्दै छिट्टै सम्बृद्ध नेपाल बनाउने साझा सपना साकार पार्नु पर्ने बताएका छन् ।

शर्माले नयां वर्षको अवसरमा विहिवार एक विज्ञप्ति जारी गर्दै एनआरएनएले सदैव साझा सपना तथा मुद्धा बोकेर निरन्तर लागि रहने बताए ।

शुभकामनाको पूर्णपाठ

हामी विभिन्न परिवेशमा विदेशीभूमीमा बस्नु परेको भएता पनि हाम्रो तन र मन सदैव स्वदेशमा नै रहिरहेको हुन्छ । त्यही भएर त हामीले विदेशमा कमाएको सीप, पूँजी र अनुभवलाई राष्ट्र विकासमा लगानी गर्दै छिट्टै सम्बृद्ध नेपाल बनाउने साझा सपना साकार पार्नुछ । एनआरएनए सदैव साझा सपना तथा मुद्धा बोकेर निरन्तर लागिरहेको छ ।

लामो समयको अहोरात्र प्रयासबाट वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्न सकिएको छ । यस्तै विदेशमा बस्ने नेपालीला आइपोओ मा १० प्रतिशत सुनिश्चितता, दूतावासबाट तथा स्थानीय तहबाट श्रम स्वीकृति लिन पाउने व्यवस्था, लामो समयदेखि प्रतिक्षामा रहेको गैरआवासीय नेपाली नागरिकताको संबोधन अन्तिम चरणमा पुगेको छ । अव सामाजिक सुरक्षा कोषमा संकलित रकमले राष्ट्रिय गौरवको आयोजनामा लगानी गर्दै देशमा आयात न्यूनीकरण गर्न जरुरी छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीको सामुहिक लागानी अव क्लिन इनर्जी र हाइड्रोमा लगाएर क्रमश कुकिंग ग्यास र इन्धनको आयात न्यूनीकरण गर्न सकिन्छ । हामीले खोजेको र देखेको सम्बृद्ध नेपाल बनाउने सपना हामीले नै पुरा गर्न सक्ने छौं । २०८० साल आयात न्यूनीकरण गरि निर्यात बढाउने बर्ष बनाउनु पर्छ । फेरि पनि नयाँ बर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना ।

नयाँ बर्ष २०८० को पावन अवसरमा सम्पूर्ण गैरआवासीय नेपाली तथा देशविदेशमा रहनुभएका नेपाली जनमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।