१३ बैशाख २०८१, बिहीबार
Follow Us

माल्टामा ‘नेपाल डे’ मनाइयो

नेपालब्रिटेन डट कम्
५ बैशाख २०८०, मंगलवार २२:२०

माल्टा । नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माल्टामा नेपाल डे कार्यक्रम भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनको आयोजनामा माल्टामा मिनी नेपाल झल्किने कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमलाई नेपाली दूतावास लण्डन, नेपाली दूतावास स्पेन, नेपाल टुरिजम बोर्ड र कोस्टा ईज क्लियर फाउन्डेसन माल्टा लगायत संस्थाहरुको सहयोग रहेको थियो । माल्टाको सबै नेपाली संघ संस्थाको सहभागीता एबं सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा करिब तीन हजार नेपाली र विदेशी दर्शकको उपस्थिति थियो ।

कार्यक्रमको उद्देश्य देशमा पर्यटन भित्र्याउनु रहेको संस्थाका संयोजक प्रकाश भण्डारीले जानकारी दिए । नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, विविध भाषा, भेषभुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको र माल्टिज लगायत युरोपियन देशका पर्यटकलाई नेपाल र नेपाल चिनाउन नै सँस्थाले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

उक्त नेपाल डे कार्यक्रममा प्रमुख अतिथिका रुपमा माल्टाको अपोजीसन लिडर वेर्नाड गेर्चको उपस्थिति रहेको थियो । उनले कार्यक्रममा निधारमा टीका, ढाकाको टोपी र खुकुरीसहित नेपाली कला देख्दा खुसी ब्यक्त गरेका थिए । उनले सो कार्यक्रममा नेपाली समुदायलाई माल्टिज सोसाइटीले निकै अब्बल समुदायको रुपमा हेरेको बताउदै नेपाल र नेपालीसँग सहकार्य गर्ने बताए ।

नेपालमा अवस्थित विश्वको सर्बोच्च शिखर सगरमाथा पुगेको जुत्ता, झोला र माल्टिज झण्डासहित आएका मार्को कार्मोनाले नेपाल र नेपालीको खुलेर प्रशंसा गरेका थिए । उनी सगरमाथा आरोहण गर्ने पहिलो माल्टिज नागरिक हुन् । उनको टोलीमा ३ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथाको चुचुरोमा पुगेको झण्डा देख्न पाउदा नेपालीहरुले निकै गर्व गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रममा संस्थाको उपसंयोजक शर्मिला बस्नेतले बताइन् । बस्नेतले कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली र विदेशी पाहुनालाई स्वागत गरेकी थिइन् ।