६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०८०, शनिबार १५:१२

काठमाडौं । नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो ।

नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको हो । जितका लागि दुई सय ८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले आठ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । वर्षाका कारण सुपरओभर पनि हुन सकेन र नेपाल समूह विजेताका आधारमा फाइनलमा पुगेको हो ।

नेपाल समूह ‘ए’को विजेता र कुवेत समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल खेलेका थिए । कुवेतका ओपनर आदनान इद्रिस शून्यमा बाहिरए भने रविजा सनदरुवानले नौ रन बनाए । परविन्दर कुमार एक, मित भावसार पाँच र मोहम्मद अस्लाम १४ रनमा आउट भए ।

नेपालका करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रनका बनाए ।

कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे । कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक–एक विकेट लिए ।

त्यसअघि ५० ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो । अब नेपालले फाइनलमा युएईसँग खेल्नेछ । युएईले ओमानलाई डिएल पद्धतिका आधारमा दुई रनले पराजित गर्दै विजयी भएको हो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि भोलि खेल्नेछन् ।