७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा प्रमोद खरेल र ज्योति मगरको जोडदार प्रस्तुति

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०८०, आईतवार २२:४२

लन्डन । मगर संघ यूकेले शनिबार फार्नबरोस्थित फुटबल क्लव मैदानमा १५ औं नेपाली ओपन कन्सर्ट गरेको छ ।

‘एकताका लागि संगीत’ नाराका साथ आयोजित उक्त कन्सर्टमा प्रमुख आकर्षण बने नेपालबाट आएका चर्चित कलाकारहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा । स्थानीय कलाकारहरुले पनि जोडदार प्रस्तुति दिए ।

कन्सर्ट शुरु हुनुअघि आयोजित पहिलो औपचारिक समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले कार्यक्रमले अन्य स्थानीय समुदायलाई पनि एकीकृत गर्दै हजारौं माइल टाढा रहेर पनि नेपालको कला संस्कृति, परम्परा, धर्म, गीत संगीतको संरक्षण र संवर्धन गर्ने कार्य गरेको भन्दै आयोजकलाई धन्यवाद दिए ।

‘तपाईंहरुले विदेशमा पनि नेपाली परम्परालाई अगाडि बढाउने प्रयास गर्नुभएको छ । नेपाली कला संस्कृति चिनाउने परिवेशलाई भव्यताका साथ अगाडि बढाउनु भएको छ जुन अत्यन्त प्रशंसनीय छ’, उनले भने ।

नेपाल एउटा वहुजातीय, वहुभाषिक र वहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै राजदूत आचार्यले आफ्नो कला संस्कृति र परम्परा आफ्नो पहिचान भएको र यसलाई जीवन्त राख्दै बेलायत नेपालबीच जनस्तरमा सम्बन्ध सुदृढ गर्ने कार्य हुनु सराहनीय रहेको जनाए ।

महासचिव गुमानसिंह थापाले सञ्चालन गरेको औपचारिक कार्यक्रमकी अध्यक्ष मगर संघ यूके अध्यक्ष सीता पुनले वाध्यता वा विविध कारण विदेशिनु परे पनि आफ्नो धरातल बिर्सन नहुने बताइन् । ‘हाम्रो पहिचान, जात, धर्म आआफ्नै छ तर हामी नेपाली हौं । जहां गएपनि हाम्रो रगत नेपाली हो भन्ने कहिल्यै भुल्नु हुन्न’, उनले भनिन् ।

नेपालीको एकता संगीतका माध्यमबाट गर्ने जमर्को आफूहरुले गरेको बताउंदै उनले सहयोगी सबैप्रति आभार व्यक्त गरेकी थिइन् । अध्यक्ष पुनले भविष्यमा समेत सबैको साथ सहयोग रहिरहे यस्तो कन्सर्ट हजारौंपटक हुने आशा पनि व्यक्त गरिन् ।

पहिलो चरणमा मगर संघ यूकेका सचिव गोमान पुनमगरले हेल्थ एण्ड सेफ्टीबारे अवगत गराएका थिए भने वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक लाल पुन मगरले स्वागत मन्तव्य दिए । नेपाल र बेलायतको राष्ट्रिय धुनहरु बजेसंगै कन्सर्टको औपचारिक कार्यक्रम शुभारम्भ गरिएको थियो ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम मगर संघ यूकेकी सांस्कृतिक सचिव सरु गुरुङ रानाको नेतृत्वमा बीएफबीएस गोर्खा रेडियोकी सञ्चालिका रुपा राना, कलाकार पवन राना, दीपक थापा मैठाने र सृजना निङलेकुले सञ्चालन गरेका थिए ।

गायक प्रमोद खरेलले बेलायती दर्शकप्रति आभार व्यक्त गर्दै आफ्नो चर्चित गीतहरु सुनाए । आफ्नो जातीय पोशाकमा गाउन शुरु गरेकी ज्योति मगरले अन्त्यतिर आइपुग्दा भने आफ्नो नग्नता मज्जाले प्रदर्शन गरिन् । गायक छेवाङ लामाले पनि आफ्नो र अन्य ‘कभर’ गीत सुनाए । ज्योति मगर र सागर गुरुङको दोहोरी पनि दर्शकले रुचाए ।

कार्यक्रममा स्वेच्छा तिलिजामगर र अन्य स्थानीय कलाकारको समूहले नृत्य र स्थानीय ब्याण्डले राष्ट्रिय गान प्रस्तुत गरेको थियो ।