११ बैशाख २०८१, मंगलवार
Follow Us

लन्डनबाट च्यारिटीका लागि एभरेष्ट म्याराथनमा दौड्दै ४९ वर्षीया अन्जु

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०८०, सोमबार १९:२६

लन्डन । लन्डन नर्थहोल्ट निवासी ४९ वर्षीया अन्जु रेग्मी सिग्देल च्यारिटीका लागि एभरेष्ट म्याराथनमा दौड्ने भएकी छन् ।

सुदुर पश्चिमको सुर्खेतस्थित वादी समुदायका बालबालिकाको सहयोगार्थ कोष जम्मा 
गर्ने उद्देश्यका साथ उनी मे अन्त्यमा नेपालमा हुने एभरेष्ट म्याराथनमा दौड्न लागेकी हुन् ।

एभरेष्ट म्याराथन मे २९ तारिख एभरेष्ट वेसक्याम्प देखि नाम्चेबजार हुंदै लुक्लामा अन्त हुने गरि तय भएको छ । उनी यतिखेर प्रशिक्षण र चन्दा संकलनमा व्यस्त भइरहेकी छन् ।

‘खेलकुदले हाम्रो स्वास्थ्यमा खेल्ने अहंम भूमिकाको प्रचार प्रसार र सीमान्तकृत एवं गरिवीको चपेटामा परि हातमुख जोड्न र शिक्षादीक्षा ग्रहण गर्नबाट वञ्चित वादी समुदायका वालबालिकाको सहयोगका लागि च्यारिटी रन 
गर्ने अठोट राखेकी हुं’, उनले भनिन् ।

हिक्मत वादी र उनकी श्रीमतिले सुर्खेतमा विभिन्न 
क्षेत्रबाट वादी समुदायका एकसय जना किशोर किशोरीलाई होस्टलमा राखेर पालनपोषण गरिरहेका छन् । तर, उनको आर्थिक अवस्था दयनीय रहेको खवर विद्या चापागाईंको ‘हेर्ने कथा’ बाट थाहा पाएपछि अन्जुले उनीहरुलाई सहयोग गर्ने अठोट लिएकी हुन् ।

उनले इच्छुकलाई ‘गो फण्डमी’ मार्फत सहयोग गर्न पनि अपिल गरेकी छन् ।

भरतपुर ४ पोख्रेली टोल लंकु चितवन घर भई हाल लन्डन नर्थहोल्ट बस्ने अन्जुले व्यस्तता वावजुद हालसम्म ७ वटा म्याराथन पुरा गरिसकेकी छन् ।

‘म सम्पूर्ण महिलामा आव्हान गर्न चाहन्छु कि हरेक हप्ता कुनै न कुनै शारिरिक व्यायममा आवद्ध हुनुहोस् यसले हाम्रो स्वास्थ्यमा सुधार र व्यक्तिगत तन्दुरुस्तीमा निकै ठूलो भूमिका खेल्छ’, उनले भनिन्, ‘समय आफूले मिलाउने हो । हामी महिला भएपनि गर्न नसकिने केही छैन । अठोट गर्नुस् र आफ्नो प्रगतिको बाटोमा दृढ भएर अघि बढ्नुस्, सबैमा मेरो शुभकामना छ।’

उनले पुरुषहरुलाई पनि आ–आफ्ना दिदीबहिनी, आमा, भाउजु र बुहारी अनि श्रीमतिलाई केही गर्न हौसला दिन आग्रह गरिन् । ‘समाज परिवर्तन हरेक व्यक्तिको जिम्मेवारी हो । यो सचेत र स्वस्थ नागरिकले मात्र गर्न सक्छ जुन आजको सबैभन्दा ठूलो आवश्यकता हो’, उनी भन्छिन् ।

बेलायतको च्यारिटी संस्था नेपलिज ब्रिटिश कम्युनिटी यूके कार्यसमितिमा आवद्ध भएर विभिन्न सहयोगमूलक कार्यमा संलग्न उनले लण्डन स्थित नेपाल रन यूकेको सदस्य भएर अरुलाई पनि हौसला बढाउने प्रयासमा लागिपरेको बताइन् ।

उनको पहिलो फुल म्याराथन लन्डन म्याराथन २०२० थियो जुन कोभिड महामारीका कारण भर्चुअल गरिएको थियो । दोस्रोपटक उनले लण्डन म्याराथन २०२१, तेस्रो बर्लिन म्याराथन २०२२, चौंथो लण्डन म्याराथन २०२२, पांचौ न्यूयोर्क म्याराथन २०२२, छैटौं बोस्टन म्याराथन २०२३ र सातौं केही दिनअघिमात्र लण्डन म्याराथन २०२३ मा सहभागिता जनाइन् ।

सन् २०१८ नोभेम्बरदेखि दौड्न शुरु गरेकी उनले ५ के, टेन के रन र केही हाफ म्याराथन गरेपछि सन् २०२० बाट फुल म्याराथन शुरु गरेकी हुन् ।

सन् २०२४ सम्म उनले विश्वका सबै ६ प्रमुख म्याराथनमा भाग लिने लक्ष्य राखेकी छन् । अब सिकागो र टोकियो बांकी छ ।