काठमाडौं । बाक्लो हुस्सुका कारण बिहानीपखको न्यून भिजिबिलिटीले रुपन्देहीमा एक विद्यालयको बस दुर्घटनामा परेको छ । मंगलबार बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका-४, बसन्तपुरमा स्कुल बस र ट्याक्टर एकापसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।
मणीग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सवार रहेको सो बसलाई विपरीत दिशाबाट आउँदै गरेको धान बोकेको ट्याक्टरले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नवलपरासीबाट भैरहवातर्फ आइरहेको लु १ ख ८६७५ नम्बरको बस र विपरित दिशाबाट गइरहेको लु ३ त ३५३० नम्बरको ट्याक्टर एकापसमा जुधेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाले प्रारम्भिक अनुसन्धानबाट बिहानीपख लागेको बाक्लो हुस्सुका कारण चालकले बाटो स्पष्ट देख्न नसक्दा दुर्घटना भएको जानकारी दिए ।
दुर्घटनामा घाइते भएका २१ जनामध्ये १३ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै, ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य चोटपटक लागेका अन्य ४ जना विद्यार्थी भने प्राथमिक उपचार पश्चात डिस्चार्ज भई घर फर्किसकेका छन् ।
प्रहरीले दुर्घटनामा संलग्न बस र ट्याक्टर दुवैका चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी सापकोटाले बताए । पछिल्लो केही दिनयता तराईका जिल्लाहरुमा शीतलहर र बाक्लो हुस्सुका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।