१२ बैशाख २०८१, बुधबार
Follow Us

ज्यान, जीवन, प्राण र कुनै सपना नभएको नीति तथा कार्यक्रम : एमाले

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार १४:३५

काठमाडौं । नेकपा (एमाले) ले नीति तथा कार्यक्रममा कुनै सपना नभएको टिप्पणी गरेको छ । शुक्रबार संसद् भवनबाट बाहिरिनेक्रममा एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर प्राण नभएको भन्दै कटाक्ष गरे ।

“नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको, प्राण नभएको । यसमा कुनै सपना छैन । जोस छैन । जाँगर छैन” भट्टराईले भने । मुलुकले भोगिरहेका समस्या समाधान गर्ने ठोस उपाय र प्रस्ताव नआएको उनको भनाइ छ । आजका आर्थिक, सामाजिक चुनौती समाधान गर्ने प्रस्ताव नराखिएको भट्टराईले बताए ।

त्यस्तै, सांसद रघुजी पन्तले नीति कार्यक्रमले यथास्थितिलाई नै निरन्तरता दिने बताए । “यो नीति तथा कार्यक्रमले जे जस्तो यथास्थिति छ । त्यसलाई निरन्तरता दिन्छ । यथास्थिति तोडेर मुलुकलाई नयाँ गन्तव्य देखाएको छैन,” पन्तको भनाइ छ ।

पन्तले औद्योगीकरण, कृषिको संरक्षण र राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने भन्दै त्यसको अभाव रहेको औँल्याए । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा वाचन गरेका थिए ।