१५ चैत्र २०८०, बिहीबार
Follow Us

तीन करोडमा बिकेको थियो माधुरीको मार डाला पहिरन

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०८०, बुधबार ०६:४३

मुम्बई । फिल्मको चरित्रलाई निखार्न र सुन्दर बनाउन उसको पहिरनको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । त्यो पहिरन कुनै पनि भूमिकालाई कथामा स्थापित गराउन पनि प्रयोग गरिन्छ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ का राज र सिमरन होस् या ‘कजरारे कजरारे’मा ऐश्वर्या राय यी भूमिकाको कुरा गर्दा जोकोहीले उनीहरुका पहिरन सम्झन्छन् ।

गब्बर सिंहदखि मोगेम्बोसम्म जस्ता कलाकारलाई पनि आफ्नो लोकप्रियता बढाउन पहिरनको भूमिका महत्वपूर्ण रह्यो । आधुनिक समयसँगै फिल्मको बजेट त बढ्यो नै, कलाकारलाई आकर्षक देखाउन पहिरनमा पनि लगानी बढ्न थाल्यो ।

फिल्मलाई हिट बनाउन अभिनेता र अभिनेत्रीका पहिरनलाई विशेष ध्यान दिइन्छ । फिल्म हिट होस् या फ्लप, फिल्ममा सेलिब्रेटीको फेसनलाई दर्शकले कसरी हेरेका छन् भन्ने कुरामा पनि ध्यान दिइन्छ । धेरैलाई चासो हुनसक्छ, फिल्ममा कलाकारले लगाएका महंगा पहिरन सुटिङ पछि कहाँ प्रयोग गरिन्छ ? अथवा त्यसलाई के गरिन्छ ?

कुरा गरौं, फिल्म ‘देवदास’को । यो फिल्म सन् २००२ मा रिलिज भएका थियो । सञ्जय लिला भन्सालीको निर्माण तथा निर्देशन रहेको यो फिल्म बनाउन त्यस समयमा ५० करोड रुपैंयाँ खर्च भएको थियो । फिल्मकी ‘चन्द्रमुखी’अर्थात् माधुरी दिक्षितले यो फिल्मको गीत ‘मार डाला’मा हरियो रंगको हेवी अनारकली सुट लगाएकी थिइन् । जुन पहिरनलाई तीन करोडमा बेचिएको थियो ।

सलमान खान, अक्षय कुमार र प्रियंका चोपडा स्टारर फिल्म ‘मुझ से शादी करोगी’ हिट फिल्म मानिन्छ । फिल्ममा सलमानले अभिनय गरेको गीत ‘जीने के है चार दिन’ निकै हिट भएको थियो । यो गतिमा सलमानले तौलियाका साथ स्टेप गरेका थिए । यो तौलिया एक लाख ४५ हजारमा बिक्री भएको थियो ।