६ बैशाख २०८१, बिहीबार
Follow Us

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०८०, बुधबार ०६:५०

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

नेता निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका हुन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधिले उक्त विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रूपमा कुनै पनि बाधा अड्चन नभएको बताए ।

उनले भने, ‘आजको समाचारपत्रहरूमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरू सुन्यौँ । यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरू खोज्नु भएको छ अरे भनेर सुनेको छु । म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नु भएको छ। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद् नै हुन्छ । अव त्यो संसदबाट दुई दुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ ।’