१८ जेष्ठ २०८३, सोमबार
Follow Us

धवलशमशेर राणाद्वारा नयाँ राष्ट्रवादी अभियानको घोषणा

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०८३, सोमबार ००:५०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशमशेर राणाले नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्।

हिजो आइतबार काठमाडौँमा आयोजित असन्तुष्ट राप्रपा नेताहरूको छलफलपछि उनले आगामी राजनीतिक यात्राबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

छलफलपश्चात् जारी गरिएको वक्तव्यमा राणाले पार्टीभित्रको आफ्नो जिम्मेवारी वा पदबारे कुनै उल्लेख नगरी देशमा विश्वासयोग्य राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ पहल अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।

उनले राष्ट्रहित, विकास र समृद्धिको पक्षमा उभिने नागरिक तथा विशेष गरी युवा पुस्तालाई उक्त अभियानमा सहभागी हुन आह्वान गरेका छन्। देशको भविष्य निर्माणमा योगदान पुर्‍याउन इच्छुक सबै राष्ट्रवादी सोच भएका व्यक्तिहरूलाई अभियानसँग जोडिन उनले आग्रह गरेका छन्।

वक्तव्यमा राणाले राप्रपालाई जनअपेक्षा र जनभावना अनुकूल ढंगले अघि बढाउने प्रयास आफूहरूले गरेको भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको स्वीकार गरेका छन्। यही परिस्थितिबीच वैकल्पिक राजनीतिक पहल आवश्यक ठानेर नयाँ अभियानको अवधारणा अघि सारिएको संकेत उनले दिएका छन्।

राणाको यो कदमलाई राप्रपाभित्र देखिएको असन्तुष्टि र आन्तरिक राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। यद्यपि उनले नयाँ अभियानको संगठनात्मक स्वरूप, नेतृत्व संरचना वा आगामी कार्यक्रमबारे भने विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

धेरै पढिएको