७ बैशाख २०८१, शुक्रबार
Follow Us

कालजायी सिनेमा खेल्न चाहन्छन दयाहाङ

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०८०, सोमबार ०५:१४

काठमाडौं । राम्रो स्कृप्ट र राम्रो टिम पाएको खण्डमा आफुले पारिश्रमिकलाई त्यति महत्व नदिने अभिनेता दयाहाङ राईले बताएका छन् ।

शुक्रबार बेलुका काठमाडौंमा आयोजित चलचित्र ‘नीरफूल’को प्रेस भेटघाटका क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्,‘मेरै धेरै चलचित्रहरु व्यबसायिक रुपमा उत्कृष्ट छन् । तथापि म सँधै हेरिरहन मन लाग्ने बाईसाईकल थिभ्स्, पाथेर पाञ्चाली जस्ता कालजायि सिनेमामा काम गर्न चाहन्छु ।’

आफुले अहिले काम गरेको चलचित्र नीरफूल पनि नेपाली चलचित्र उधोगको एउटा मानक चलचित्र बन्न सक्ने विश्वास उनले व्यक्त गरेका छन्,‘यो चलचित्रले भोलीका दिनमा कस्तो व्यापार गर्छ भनेर म अहिले नै ठोकुवा गर्न त सक्दिन । तर मैले अहिलेसम्म अभिनय गरेको नेपाली चलचित्रमा स्कृप्ट र विषयबस्तुको हिसाबले चलचित्र नीरफूल उत्कृष्ट रहेको छ ।’ दयाहाङले भने ।

सञ्चारकर्मी फूलमान बलले चलचित्र नीरफूलको निर्देशन गरेका हुन् । केरोना महामारीका कारण यस अघि रिलिज हुन नसकेको आफ्नो चलचित्र यही २६ जेठबाट मुलु्कका सिनेमा हलमा रिलिज हुने निर्देशक फुलमानले बताए । चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले दावी गरे,‘चलचित्रमा भुकम्प आउँछ, तर यो चलचित्र भुकम्पको कथा माथि हैन’, उनले भने, ‘हाम्रो समाज र जीवनमा आउने भुकम्प, करप्टेड सिस्टमले ल्याउने भुकम्प चाहिँ चलचित्रमा छ ।’

अभिनेत्री शान्ति वाईवाले मौलिक कथाबस्तु भएका कारण चलचित्र नीरफूलमा काम गर्दा निकै रमाईलो लागेको बताईन् ।

नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यो चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय गरेका छन् ।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको यो चलचित्रको चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । फिल्मको गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् ।

यस चलचित्रको कार्यकारी निर्मातामा डोमा सोनाम छन । यस्तै नीरफूललाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् ।