२३ बैशाख २०८१, आईतवार
Follow Us

फेरि चुनाव लड्ने हुटहुटी बांकिनै छ : रविना थापा, अध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०८०, बिहीबार २३:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रविना थापाले असन्तुष्ट पक्षलाई समेटेर लैजाने प्रयास भैरहेको बताएकी छन् ।

थापाले गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा भाग लिनको लागि विश्वभरका गैरआवासीय नेपालीहरुलाई एमआईएस मार्फत सदस्यता लिन आग्रह गरेकी छन् ।

थापाले विहिवार नेपालब्रिटेन डट कमसंग कुरा गर्दै भोटिङ राइट फर अल (सबैको लागि मताधिकार) अन्तरर्गत सबै सदस्यहरुले मत हाल्न सक्ने विकल्पमा छलफल भैरहेको जानकारी दिइन् ।

गैरआवासीय नेपाली संघभित्र एकताको लागि सकृय थापाले यसअघि संघका पूर्वअध्यक्ष शेष घलेसंग प्रत्यक्ष छलफल गरेकी थिइन् । उनले संघको अभियानमा छुटेकाहरुसंग वार्ता गर्न संघद्धारा गठित समितिले छलफल जारी राखेको जानकारी दिइन् ।

‘पटक पटक छलफल भएको छ । विकल्पहरु सोच्नको लागि साथीहरुलाई आग्रह गरिएको छ’ थापाले भनिन् । उनले आफ्नै कार्यकालमा सर्वसम्मतले पारित विधानलाई परराष्ट्र मन्त्रालयले स्वीकृत दिएको अवस्थामा विधान अनुरुप चुनाव हुने बताइन् । वार्तासंगै महाधिवेशनको तयारी रोकिन्न् थापाको जिकिर थियो ।

उनले भनिन् ‘१० औं महाधिवेशनमा समेत म अन्तिम सम्म निर्वाचन हुनु पर्छ भन्ने पक्षमा थिए । उम्मेदवारी समेत दर्ता गरेकी थिए तर निर्वाचननै हुन दिइएन् । यस पटक जुनसुकै हालतमा पनि निर्वाचन हुन्छ’ । उनले ११ औं महाधिवेशनमा पुनः उम्मेदवारी दिने संकेत गर्दै भनिन् ‘आफ्नो निर्वाचन लड्ने हुटहुटी यथावत छ । आवश्यक परे निर्वाचन लड्छु ।’

६ महिना कार्यकारी अध्यक्ष समालेकी थापाको पालामा सर्वसम्मतले नयाँ विधान पारित गरेर परराष्ट्र मन्त्रालयले स्वीकृत दिएको थियो । सो अधिवेशनमा अनिवार्य रुपमा अनलाइनको भोटिङको व्यवस्था गरिएको छ । थापाकै नेतृत्वमा भोट हाल्नै नेपाल जानुपर्ने बाध्यता हटेको छ । एमआईएस सिस्टम पूर्णरुपमा लागू, फेसभेरिफिकेशन, अनलाइन पेमेन्ट सिस्टम, सामाजिक सुरक्षाकोष, श्रमिकहरुको लागि आइपिओ, ब्लड बैंक, पोखरामा स्मार्ट रेस्ट रुम, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान लगायतका काम गरेर चर्चामा आएकी छन् । उनले संघको मेघा प्रोजेक्टको नेतृत्व गरेकी थिइन् ।