२३ बैशाख २०८१, आईतवार
Follow Us

आचार्यलाई साक्षी राखेर एनआरएनए यूकेको अध्यक्षमा हित काजी गुरुङले गरे उम्मेदवारी घोषणा

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०८०, शनिबार १९:५९

अल्डरसट । गैरआवासीय नेपाली संघ यूकेको आगामी कार्यकालको लागि हितकाजी गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

तमुधिं यूकेको पूर्वअध्यक्ष समेत रहेका गुरुङ गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको मनोनित कार्यसमिति सदस्य हुन् । तर उनले सदस्य पदको शपथ ग्रहण गरेका छैनन् ।

संघका केन्द्रीय अध्यक्ष कुल आचार्यको उपस्थितिमा अल्डरसटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले गैरआवासीय नेपाली संघ यूके दुईवटा छन् भनेर समाजमा भ्रम छरिएको बताए । उनले संस्थाको प्रकृयालाई मानेर अघि बढ्न आग्रह गरे ।

उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले जिते पछि गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरताको प्राप्ति गर्ने तिर लाग्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले एनआरएनए अभियानमा भूपूगोर्खा लगायत वेलायतबासी नेपालीको उल्लेख्य योगदान भएको रहेको चर्चा गरे ।

गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउन आचार्य उनकै घरमा पुगेर उम्मेदवारी दिन मनाएका थिए । आचार्यले गैरआवासीय नेपाली संघको अभियानमा गुरुङले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गुरुङ पर्वत वेलफेयर सोसाइटीको विश्व सञ्जालको प्रमुख संरक्षक समेत हुन् । कार्यक्रममा संघका पूर्वअध्यक्षहरु, संघसंस्थाका प्रतिनिधिहरु, संघका पूर्वपदाधिकारीहरु, स्थानिय रोयल बरो अफ ग्रीनवीचका उपमेयर जित रानाभाट, काउन्सिलर जीव बेल्वासे लगायतको उपस्थिति थियो ।

संघको आगामी कार्यकालको लागि एलबी गुरुङ, सुनिल खड्का, दिनेश घिमिरे, डा. नारायण कंडेलको नाम अध्यक्षको आकांक्षीको रुपमा चर्चामा छ ।