९ कार्तिक २०८२, आईतवार
Follow Us

पूर्वसभामुख महरा निर्दोष रहेको अदालतको फैसला

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०७६, सोमबार ०९:२१

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष रहेको भन्दै काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । जबरजस्ती करणी उद्योग मुद्दामा महरलाई अदालतले सफाइ दिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले आज महराविरुद्धको मुद्दामा फैसला सुनाउँदै ‘अभियोग दाबी नपुग्ने’ देखिएकाले उनी निर्दोष रहेको ठहर गरेको हो ।

सं‌सद सचिवालयमा कार्यरत कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएकाको थियो । सो मुद्दामा आइतबार अन्तिम बहस सकिए पनि फैसला भने आज मात्र आएको हो । यसअघि काठमाडौं जिल्‍ला अदालतले नै महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै गत कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । थुनामा रहेकै अवस्थामा महराले सफाइ पाएका हुन् ।

जबरजस्ती करणी उद्याेगमा उनीमाथि जिल्ला अदालत काठमाडाैँमा गत कार्तिक १४ गते मुद्दा दर्ता भएकाे थियाे । महरामाथिकाे प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि साे आदेशविरूद्ध महरा उच्च अदालत, पाटन गएका थिए । तर उच्च अदालतले पनि गत पुस ३ गते सुनुवाइ गर्दै जिल्ला अदालतको थुनामा राख्ने आदेश नै सदर गरेको थियो ।

संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियाेगमा महरालाइ गत असोज १९ मा पक्राउ गरिएकाे थियाे । त्यसअघि असोज १२ गते आइतबार अपरान्ह चार बजे महरा बा २० च ५७११ नम्बरको ‘सिल्भर कलर’को स्कारपियो गाडीमा साँझ ६ बजेर ७ मिनेटमा राेशनी भनिने ती कर्मचारीकाे निजी डेरामा पुगेका थिए, साेही दिन घटना भएकाे भन्दै उजुरी प्रहरीमा पुगेकाे थियाे ।

धेरै पढिएको