लण्डन । गैरआवासीय नेपाली संघ यूकेको महासचिव पदमा नेपाल सरकारका एक पूर्वउच्च अधिकारीले उम्मेदवारी दिएका छन् ।
गैरआवासीय नेपाली संघ यूकेको जुलाई २२ तारिख हुने निर्वाचनको लागि नेपाल सरकारको पूर्व सहसचिव स्तरको जिम्मेवारी समालेका बालकृष्ण भुसालले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
उनीसंग नेपालमा जिल्लाको कार्यालय प्रमुख, प्रदेश हुदै बिभाग र मन्त्रालय लगायतका बिभिन्न ठाँउको उच्च ओहोदामा रहेर काम गरेको अनुभव रहेको छ ।
उनसंग त्रिभुवन विश्वविद्यालय सिएमए क्याम्पसको शिक्षक तथा क्याम्पस प्रमुख, तथा अमेरिकन प्रोजेक्ट सेभ द चिल्ड्रेनमा प्रोजेक्ट कोअड्र्रिनेटर भई काम गरेको अनुभव छ ।
देशका ७७ वटै जिल्लामा पुगेका भुसाल नेपाल सरकारको स्वास्थ्य सेवामा काम गर्दा हैजा, झाडापखाला रोग नियन्त्रण, औलो, डेन्गु ज्वरो लगायतका रोग नियन्त्रण तथा भूकम्प पिडितको उद्दार समेत खटिएका थिए ।
भुसालले गैरआवासीय नेपाली संघमा अपनत्व हुने गरि कार्यक्रम ल्याउने योजना बनाएका छन् । बृटिश गोर्खाका समस्याको समाधान खोज्ने, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पतिको सुरक्षा, आर्थिक लगानी लगायतको क्षेत्रलाई उनले मुख्य योजना बनाएका छन्।
अर्घखाची घर भएका भुसालले थाईल्याण्डको महिडोल विश्वविद्यालयबाट हेल्थमा मास्टर डिग्री हासिल गरेका छन् । उनले मास्टर इन पव्लिक एड्मिनिष्ट्रेसन र बीएड गरेका छन् ।