२२ बैशाख २०८१, शनिबार
Follow Us

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पक्राउ

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार ०७:१५

काठमाडौं । निर्वाचन आयोग बहादुर भवन घेर्न पुगेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईसहित केही नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन आयोग अगाडीको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले भट्टराईसहित पच्चीस जनालाई पक्राउ गरेको हो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही समय झडप भएको थियो ।
जमलवाट निस्केको जुलुस निर्वाचन आयोग नजिकै पुगेपछि प्रहरीले निषेधित क्षेत्र भन्दै रोक्ने प्रयास गरेपछि झडप भएको हो । सोही क्रममा प्रहरीले नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराई, नेकपा माओवादी (क्रान्तिकारी) का नेता सीपी गजुरेललगायतलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएपछि नयाँ शक्तिका संयोजक भट्टराईले तीन दलले ‘सिण्डिकेट’का आधारमा निर्वाचन गर्न खोजेको आरोप लगाए । निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा नै कायम गरिएको निर्वाचन चिन्ह प्राप्त गर्नुपर्ने माग गर्दै ६४ दलका नेता/कार्यकर्ता आयोगको कार्यालय घेराउ गर्न पुगेका थिए ।
नयाँ दललाई दलीय चुनाव चिन्हबाट चुनाव लड्न वञ्चित गर्ने गरी स्थानीय तह निर्वाचन ऐन ल्याइएको भन्दै साना दलले आज देशैभरका निर्वाचन कार्यालय अघि धर्ना दिइरहेका छन् । सरकारले आफूले दिएको समयसीमाभित्र ऐन संशोधन नगरेको भन्दै साना दल आन्दोलनमा उत्रिएका हुन् ।