२४ असार २०८१, आईतवार
Follow Us

५० भन्दा बढी देशमा एनआरएनएको नयां नेतृत्व, १ लाख कट्यो पंन्जिकृत सदस्यको संख्या

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार ०८:२३

लण्डन । गैरआवासीय नेपाली संघका ५० भन्दा बढी देशमा आगामी दुई साताभित्र नयां निर्वाचनको हुने कार्यतालिका तय भएको छ । संघको विधान अनुसार आगामी अक्टोवरमा हुने एघारौँ महाधिवेनसनको तयारी स्वरुप ती देशहरुमा निर्वाचन हुन लागेको हो । संघको विश्वभर ८६ वटा मुलुकहरूमा संजाल रहेको छ ।

गैरआवासीय नेपाली संघको केन्द्रीय नेतृत्व चयन गर्नका लागि राष्ट्रिय समितिले प्रतिनिधि समेत चुनेर पठाउने छन् । संघको ११ औं महाधिवेसन अक्टोवर दोस्रो साता देखि काठमाण्डौंमा हुदैछ ।

केन्द्रीय सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन्। केन्द्रीय विधानमा जुलाइभित्र राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने व्यवस्था छ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार बेल्जियम, अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका महत्वपूर्ण देशमा आगामी दुईसाताभित्र निर्वाचन सम्पन्न हुनेछ ।

यसैबीच मध्यपूर्वमा पनि चुनावी रौनक बढेको छ। साउदी अरब, कतार, यूएई, कुवेत, ओमन, बहराइन र इराक लगायतका मुलुक मध्यपूर्व क्षेत्रमा समेत निर्वाचन तयारी भैरहेको छ ।

हालसम्म ओमनले मात्र आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको अवस्था छ। ओमनमा विकल झा नेतृत्वमा पुनस् दोहोरिएर आएका छन्।् ।

आइसीसीले तय गरेको निर्वाचन तालिका अनुसार २१ जुलाइमा कतार, बहराइन र कुवेतमा एकै दिन निर्वाचन हुँदैछ।

यस्तै, कुवेतमा निर्वाचन गराउने जिम्मेवारी सुजन केसीलाई दिइएको छ भने मध्यपूर्व क्षेत्रीय उपसंयोजक अमृत चाम्लिङ राईलाई पर्यवक्षक बनाइएको छ।

त्यसैगरी, बहराइनमा चुनाव गराउन कमल श्रेष्ठलाई संयोजक तोकिएको छ भने मध्यपूर्व क्षेत्रीय उपसंयोजक लाल प्रसाद पुनलाई पर्यवक्षकको जिम्मेवारी दिइएको छ।

यस्तै, साउदी अरब र इराकमा २८ जुलाइका लागि निर्वाचन मिति तय भएको छ। साउदीमा मध्यपूर्व क्षेत्रीय संयोजक राजेन्द्र अर्याल (जोन) ले निर्वाचन गराउने अधिकार पाएका छन् भने पर्यवक्षकमा एनसीसी साउदी अरबका उपाध्यक्ष भक्त वीर राइलाई पर्यवक्षक बनाइएको छ।

इराकमा निर्वाचन गराउन राजीव कुमार थिङलाई संयोजक बनाइएको छ भने पर्यवक्षकको जिम्मा निर्वतमान अध्यक्ष लालकाजी गुरुङलाई दिइएको छ।

मध्यपूर्व क्षेत्रको अन्तिममा यूएईमा महाधिवेशन हुँदैछ। यूएईमा रमेश श्रेष्ठलाई निर्वाचन संयोजक तोकिएको छ भने राजु केसीलाई पर्यवक्षकमा राखिएको छ।

१ लाख पंन्जिकृत सदस्य दर्ता
लामो विवादकाबीच सम्पन्न संघको १० औं महाधिवेसको प्रभावले पंन्जिकृत सदस्यहरुको संख्या घट्ने अपेक्षा गरि पनि संघको ११ औं महाधिवेसनको लागि विश्वभर १ लाख जनाले सदस्यता लिएका छन्। सो समाचार तयार पर्दा सम्म ९६ हजार ५ सय २६ जनाको सदस्यता प्रमाणीकरण सम्पन्न भएको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।

जर्मनी, अष्ट्रेलिया, माल्टा लगायत केही देशमा प्रमाणीकरणको प्रकृया सकिए पछि १ लाख भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

केन्द्रीय प्रतिनिधि छनोट

गैरआवासीय नेपाली संघको विधान अनुसार आगामी ११ औँ महाधिवेसनको लागि प्रतिनिधिहरु राष्ट्रिय समितिबाटै छनोट हुनेछन् । संघका पूर्वमहासचिव तथा अध्यक्षका प्रत्यासी डा. हेम राज शर्माका अनुसार राष्ट्रिय समितिले ९० प्रतिशत प्रतिनिधिहरु पुराना पदाधिकारीहरु मध्येबाट चयन गर्ने छन् भने बाँकी १० प्रतिशत कार्यसमितिले चयन गर्नेछ । संघको आगामी महाधिवेसनको लागि ४ हजार प्रतिनिधि चयन हुने अपेक्षा गरिएको छ ।

केन्द्रीय नेतृत्वमा ४ आकांक्षी
गैरआवासीय नेपाली संघको नयां नेतृत्वको लागि ४ जनाले आकांक्षा देखाएका छन् । कार्यकारी अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरु डा. हेम राज शर्मा, महेश कुमार श्रेष्ठ र आरके शर्माले आगामी कार्यकालको लागि अध्यक्ष पदको जिम्मेवारी लिने तयारी थालेका छन् । आरके शर्माले आफ्नो निर्वाचन अभियानलाई तिब्र पारेका छन् भने केसी, डा. शर्मा र श्रेष्ठ मध्ये एक जना उम्मेदवार बन्न दवाव रहेको छ ।