काठमाडौँ । मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ। मुख्यमन्त्री सरोज यादवको राजीनामा स्वीकृत गर्दै शुक्रवारसम्मका लागि समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो।
संविधानको धारा १६८ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई शुक्रवार ५ बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ।
मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको २२औं दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका हुन् ।
विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो । दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशबमोजिम आज प्रदेशसभामा विश्वासको मतको कार्यसूची राखिएको थियो । तर, उनले सम्बोधन गर्न सुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ सांसद बाहिरिए ।