१८ बैशाख २०८१, मंगलवार
Follow Us

‘गोर्खा वारियर’ हेर्न गोर्खालीले गरे बस रिजर्भ

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार २०:१२

गोर्खालीको वीरताको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘गोर्खा वारियर’ को वल्र्डवाइड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा हुँदैछ । आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको प्रिमियरलाई लिएर बेलायतमा रहेका नेपाली उत्साहित छन् । त्यहिँ कारण प्रिमियरमा सहभागी हुन् बेलायतस्थित रेडीङमा रहेका नेपालीले बस नै रिजर्भ गरेका छन् ।

आफ्नो पुर्खाको गौरवतालाई प्रस्तुत गरिएको कथालाई पहिलोपटक पर्दामा हेर्न उत्साहित रेडीङमा रहेका नेपालीले दुईवटा बस रिजर्भ गरेर प्रिमियरमा सहभागी जनाउनेछन् । उनीहरूले सामाजिक सञ्जालमार्फत यसको जानकारीसमेत गराएका छन् । उक्त दुई बसमा एकसय पचास जनाले सहजै यात्रा गर्न सक्नेछन् । बेलायतमा पहिलोपटक हुँदै गरेको प्रिमियरलाई लिएर विभिन्न योजना बनिरहेको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए ।

‘बेलायतमा रहेका नेपालीहरूले आफ्नो अनुकुलता अनुसार फिल्म हेर्ने योजना बनाईरहनुभएको छ । बस नै रिजर्भ गरेर फिल्म हेर्न आउने संवत
बेलायतमा पहिलो नै हो । उहाँहरू गोर्खालीको वीरतालाई सेलिब्रेट गर्न चाहनुहुन्छ’, निर्देशक चाम्सले भने । उनले अन्य क्षेत्रबाट समेत प्रिमियरमा सहभागी हुने सन्दर्भमा विभिन्न योजना बनेको जानकारी दिए । यस्तै, सोही प्रिमियरमा धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई समेत सहभागी हुँदैछन् ।
हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त हलमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको फिल्म प्रिमियर भइसकेको जानकारी दिए ।
निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारी दिए । युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ ।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।