१८ बैशाख २०८१, मंगलवार
Follow Us

स्वास्थ्यमन्त्री बस्नेतले गरे बेलायती अस्पतालको निरिक्षण

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८०, सोमबार २०:५८

लण्डन । बेलायत भ्रमणमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बेलायती स्वास्थ्य राज्य मन्त्री वील क्वीन्ससँग भेटवार्ता गरेका छन् ।

बेलायतको स्वास्थ्य मन्त्रालयमा सोमवार भएको भेटवार्तामा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक विकास विशेष गरी स्वास्थ्य क्षेत्रमा र्पुयाएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दुतावास लण्डनले जनाएको छ ।

मन्त्री बस्नेतले नेपाल र वेलायतबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सहरु नियुक्ति सम्बन्धी सम्झौता प्रति खुशी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोध गरे ।

भेटमा बेलायती स्वास्थ्य मन्त्री क्वीन्ससले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग भइरहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरुको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने विचार व्यक्त गरे ।

उक्त भेटका अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी थिए ।

यसैबीच मन्त्री बस्नेतले आइतवार वीन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरुको तालिम तथा स्थानान्तरण प्रक्रियाको बारेमा जानकारी लिए ।

साताव्यापी बेलायत भ्रमणमा रहेका बस्नेतले नेपाली राजदूतावासद्वारा आइतवार आयोजित भानु जयन्ती समारोहमा सहभागी भई बेलायतमा रहेका नेपाली साहित्यकार तथा साहित्यप्रेमीहरुको भेलालाई सम्बोधन गरे । मन्त्री बस्नेतले बेलायत भ्रमणको क्रममा नेपाली डक्टर्स एसोशियसन, नेपाली नर्सिङ्ग एशोसियसनका पदाधिकारीहरु, नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुसंघ भेट गरेका थिए ।