६ श्रावण २०८१, आईतवार
Follow Us

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०८०, बिहीबार १३:५१

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ ।

यसअघि पनि थापा सर्वोच्चकै आदेशमा पदमुक्त भएका थिए । उनले भदौ ४ गते लिएको विश्वासको मत र त्यसअनुरुपको पत्र खारेज गरिएको हाे ।

सर्वोच्चले संविधानको धारा १६८ को उपधारा ३ अनुसार जानुनै स्वस्थ संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख छ । आदेशमा ४८ घण्टाभित्र ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ । धारा १६८ (३) अनुसार बन्ने मुख्यमन्त्रीले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसके पुन: अर्को सरकार गठन प्रक्रियामा जानुपर्ने हुन्छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।