काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका छन् ।
सानेपामा केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा उनले महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका हुन् ।
‘पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन नि । मूल कुरो अधिवेशन समयमा हुनुपर्यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि,’ प्रवक्ता महतले भने, ‘त्यसो हुनाले महाधिवेशनको कार्यतालिका आइसकेको, कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’
उनले विशेष महाधिवेशनको माग निष्कृय हुने तर्क पनि गरे । ‘स्वतः निष्कृय यस मानेमा पनि हुन्छ किनकि हामीले माघ ८ गतेभित्रै टुंग्याउने भनेका छौँ । त्यसको आधारमा जुन निर्वाचन हुन्छ, त्यसले हिजो प्रतिनिधित्व नभएकाहरूलाई पनि प्रतिनिधित्व गर्ने सुनिश्चितता गर्छ १५ औँ ले,’ महतले भने, ‘विशेष महाधिवेशन के का लागि, कसरी गर्ने भन्ने अन्योलमा छ । अब अधिवेशन नै भइसकेपछि विशेष अधिवेशनको औचित्य रहँदैन ।’
विशेष महाधिवेशन पक्षधरले २९ असोजमा झन्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।