२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपालमा निर्धक्क भएर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०८०, बिहीबार ०३:४०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावण बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीहरुको शीप, क्षमता र लगानी बिना मुलुक अघि बढ्न नसक्ने बताए । वर्तमान सरकार मुलुकको आर्थिक विकास, समृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको प्रधानमन्त्रीको भनाइ थियो । विदेशमा रहेका नेपालीहरुप्रतिको सोंचमा परिवर्तन भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एनआरएनहरु पलायन नभई विस्तारित भएको तर्क गरे ।

गैरआवासीय नेपाली समुदाय तथा व्यवसायी एवं विज्ञहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेको कार्यपत्रले आफू उत्साहित भएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले आज संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।