१७ असार २०८१, आईतवार
Follow Us

नेपाल नागरिकता नियमावली प्रकाशित (राजपत्र)

नेपालब्रिटेन डट कम्
४ आश्विन २०८०, बिहीबार २१:२९

काठमाडौँ । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको हो ।

यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ ।

नागरिकता ऐनमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरिए अनुशार नियमावलीले यसको कार्यविधि तय गरेको छ । आज राजपत्रमा प्रकाशित नियमावली अनुशार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले कुन कुन प्रकृया अपनाउने भन्नेबारे स्पष्ट पारिएको छ ।

ऐनको दफा ७क को उपदफा १ बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले तोकिएका कागजात संलग्न गरी तोकिएको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्नेछन् ।

तोकिएका कागजातहरु भन्नाले हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, तोकिए अनुशारको प्रतिवद्धतापत्र र नागरिकता ऐनमा व्यवस्था भए अनुरुप निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकको नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्यागेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, सार्क सदस्यराष्ट्रबाहेकका देशमा बसेको प्रमाण पेश गर्नुपर्नेछ । प्रतिवद्धता पत्र भन्नाले अनुसुचीमा उल्लेख भए अनुरुपको विदेशको नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित देशमा बसोबास गर्दै आएको तथा नेपालको संविधान तथा प्रचलित कानून प्रति पूर्ण रुपमा बफादार रहने एवं नेपालको संविधान र प्रचलित कानून बमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकार बाहेक अन्य कुनै पनि अधिकार उपभोग नगर्ने प्रतिबद्धता सहितको पत्र हो ।

गैर आवासीय नेपाली नागरिकताका लागि नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन प्राप्त भएमा सम्बन्धित दूतावासमा कार्यरत कम्तीमा अधिकृतस्तरको कर्मचारीले आवश्यक कुरा बुझी निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र अनिवार्य रुपमा राय सहित परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरिएको छ । प्राप्त निवेदनमा निवेदकको नाताभित्रको नेपाली नागरिकले र त्यस्तो नाताको व्यक्ति नभएमा सम्बन्धित व्यक्तिलाई चिन्ने नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारीसमक्ष उपस्थित भई सनाखत गरिदिनु पर्नेछ।

प्राप्त निवेदनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले छानबिन गरी त्यस्तो व्यक्ति गैरआवासीय नेपाली नागरिकता पाउन योग्य देखिएमा अनुसूची(डङ। बमोजिमको ढाँचामा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ। छानबिन गर्दा प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको वैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कूटनीतिक नियोगसँग समेत बुझ्न सक्नेछ ।

निवेदकको नागरिकता वा राहदानीको वैधताको विषयमा बुझ्न पठाएकोमा सम्बन्धित नेपाली कूटनीतिक नियोगले पन्ध्र दिनभित्र त्यस्तो नागरिकता वा राहदानीको वैधताको विषयमा बुझी जानकारी गराउनु पर्नेछ। गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुअघि प्रमुख जिल्ला अधिकारीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यक्तिलाई तोकिएको ढाँचामा शपथ गराउनु पर्नेछ।

नियमावली बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउन विद्युतीय माध्यमबाट समेत निवेदन दिन सक्ने व्यवस्थाको लागि मन्त्रालयले आवश्यक प्रविधिको विकास गरी त्यस्तो निवेदन विद्युतीय माध्यमबाट समेत दिन सक्ने प्रबन्ध मिलाउन सक्नेछ ।

गैर आवासीय नेपालीलाई नागरिकता दिइने भएपनि राजनीतिक अधिकार भने दिइएको छैन । उनीहरुलाई राजनीतिक दलमा संलग्न हुने वा मतदान गर्नेजस्ता क्रियाकलापमा सहभागी हुने अधिकार भने हुनेछैन । कसैले झुट्टा विवरण दिई गैरआवासीय नेपाली नागरिकता लिएमा तीन महिनादेखि एक वर्षसम्म कैद वा पच्चीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । झुट्टो वितरण दिई गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता स्वतः रद्द हुनेछ ।