काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन् । नेपाल-चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०१७ मा नेपाल बीआरआई परियोजनामा सामेल भएको र अहिले त्यसको कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच क्रस बोर्डर इकोनोमिक जोन, सडक करिडोर, रेल, ट्रान्समिसन लाइनमा काम भइरहेको बताए । केही समयअघि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेको बताए । उनले भने,’चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आउनु नेपाल-चीन पारवहन सम्झौताको कार्यान्वयन हो।’
नेपाल-चीन आर्थिक सहयोग र साझेदारी अघि बढाउने विषयमा आफू र चिनियाँ राष्ट्रपति सी जीनपिङबीच छलफल भएको प्रधानमन्त्री दाहालले बताए । उनले चिनियाँ राष्ट्रपति सी र आफूले क्रस बोर्डर कनेक्टिभिटीलाई मजबुत पार्ने विषयमा गम्भीर छलफल भएको बताए ।
प्रधानमन्त्री दाहालले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरे । नेपालमा अवसरहरूकाे सम्भावना भएकाले उद्यमी र लगानीलाई स्वागत गरिन्छ भन्ने सन्देश दिन आफू समिटमा आएको बताए । एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहेको समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा जलविद्युत्, कृषि, वन, जडीबुटी र सूचना प्रविधिको क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल आउने बताए । चीनले पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म गरेको अकल्पनीय विकासबाट संसारले पाठ सिक्नुपर्ने उनले बताए ।
समिटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्धन र निर्यात विस्तारका विषयमा धारणा राखे । समिटमा नेपालबाट ५० जना उद्योगी व्यापारी सहभागी थिए ।
नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दुई मुलु्कको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए । प्रधानमन्त्री दाहाल दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएर आज बेइजिङ पुगेका थिए ।