६ श्रावण २०८१, आईतवार
Follow Us

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०८०, मंगलवार ०४:३७

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

कार्कीले विश्वासको मत लिने सूचना प्रदेशसभालाई सोमबार दिएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेशसभालाई सूचना दिनुपर्ने प्रदेशसभा नियमावलीको व्यवस्था छ । कोशी प्रदेशमा असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै असोज २० गते स्थगित प्रदेश सभा बैठक कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बस्ने सूचना जारी गरेको हो । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिने तयारी गरेका हुन् ।

यसअघि नियुक्त भएका मुख्यमन्त्रीहरूले विश्वासको मत लिने तालिका ३० औँ दिनसम्म पुग्ने गरेको थियो । तर, एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि मुख्यमन्त्री बनेका कार्की एक साताभित्र विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।

यसैबीच नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले पनि समर्थन गर्ने माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीले बताए ।